• २०८३ असार २
  • 2026 June 16, Tuesday

नाडा र काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

काठमाडौँ । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच उपत्यकाको ट्राफिक व्यवस्थापन र जनचेतना अभिवृद्धिका लागि सहकार्य गर्ने सहमति भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी ट्राफिक समस्या र समाधानका उपायबारे विस्तृत छलफल गरेको हो।

छलफलका क्रममा काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाबीच क्रिएटिभ र दीर्घकालीन उद्धेश्यका विषयहरुमा सहकार्यगरी अघि बढ्नु पर्ने बताए। सोही क्रममा उनले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाडाैं शहरभित्र चल्ने गरेको गुनासो गर्दै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए।

यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भन्दै नाडाले ए.आई. प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताए। यसै क्रममा उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तिले उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनु पर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले सो कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरे ।सोही छलफलको क्रममा उनले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा यही २०८३ असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिँदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरे। यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिए।

छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले यो कार्यालयसँग पहिलेदेखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्यगरी अघि बढ्न चाहेको बताए। छलफलमा उपस्थित भएका नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले आफ्ना धारणा व्यक्त गरेका थिए ।