काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ।
यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत सहभागी रहनेछ।
सहकार्यका बारेमा बोल्दै नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ। अर्बौँ दर्शकको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध बनाउँछ।’
सिइओ पराजुलीले अगाडि भने , ‘यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साहलाई अझ नजिकबाट अनुभव गराउनुका साथै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास हामीले लिएका छौँ।’
नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व र ब्रान्ड प्रवर्द्धनलाई सँगसँगै लैजाँदै खेलकुद क्षेत्रको विकास र विस्तारमा समेत योगदान पुऱ्याउँदै आएको छ।