बागलुङ । महिलाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजनामा “महिला सशक्तीकरण, नेतृत्व विकास तथा वित्तीय सबलीकरण प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
एकदिने प्रशिक्षण कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील महिला नेतृहरू, सिवाईसी नेपालका आजीवन सदस्य, विशिष्ट सदस्य तथा सिवाईसी साकोसका शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित भई नेतृत्व, सकारात्मक सोच र वित्तीय सबलीकरणका विविध पक्षबारे ज्ञान तथा अनुभव आदानप्रदान गरेका थिए ।
प्रशिक्षण सत्रमा नेपाल जेसीसका पूर्व अध्यक्ष तथा अस्ट्रेलियाका लागि नेपालका पूर्व राजदूत महेशराज दाहालले “शक्तिशाली सोच र नेतृत्व” विषयमा सहजीकरण गरे । उनले व्यक्तिको सोच, दृष्टिकोण र व्यवहारले नेतृत्वको गुणस्तर निर्धारण गर्ने उल्लेख गर्दै महिलाहरूले आफ्नो क्षमता पहिचान गरी समाज परिवर्तनको अगुवाका रूपमा अघि बढ्नुपर्ने धारणा राखे । नेतृत्व पद वा जिम्मेवारीमा सीमित नभई आफ्नो परिवार, समुदाय र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव सिर्जना गर्ने प्रक्रिया भएको उनको भनाइ थियो ।
त्यसैगरी, चारतारे युवा क्लब, सिवाईसी नेपालका सल्लाहकार मन दाहालले “नारीवादी नेतृत्व र युवा सशक्तीकरण” विषयमा प्रशिक्षण दिए । उनले लैङ्गिक समानता, समावेशी नेतृत्व र महिलाको निर्णय प्रक्रियामा सहभागिता बढाउन आवश्यक रहेको बताउँदै महिला नेतृत्वको विस्तारले दिगो सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे । उनले युवा पुस्तामा सहकार्यको संस्कृति विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गरे ।
यसैगरी, विकास तथा मानवीय सेवाको क्षेत्रमा कार्यरत विज्ञ गोविन्द दाहालले “शक्तिशाली सोच” विषयमा प्रशिक्षण दिँदै सकारात्मक सोच, आत्मअनुशासन, लक्ष्य निर्धारण र निरन्तर सिकाइले व्यक्तिको जीवनमा सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । चुनौतीलाई अवसरका रूपमा लिन सक्ने मानसिकता विकास गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले महिलाको आर्थिक र सामाजिक सशक्तीकरण बिना समृद्ध समाजको परिकल्पना गर्न नसकिने बताउँदै सहकारी, बचत, उद्यमशीलता र वित्तीय साक्षरतामार्फत महिलाहरूलाई आत्मनिर्भर र सशक्तिकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमको उद्देश्यबारे संस्था कार्यसमिति सदस्य सीता शर्माले प्रकाश पार्दै महिलाको नेतृत्व क्षमता अभिवृद्धि, वित्तीय चेतनाको विस्तार र सकारात्मक सोचको विकासमार्फत समुदायमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको बताइन् ।
कार्यक्रममा पूर्व प्रतिनिधिसभा सदस्य मना के.सी., अन्तपार्टी महिला सञ्जाल बागलुङका अध्यक्ष सीतादेवी सापकोटा कँडेलले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थाका उपाध्यक्ष लक्ष्मण खड्काले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सहभागीहरूको तर्फबाट बागलुङ नगरपालिका–१४ निवासी पार्वती शर्मा ढकालले प्रशिक्षण अत्यन्त उपयोगी र समयसापेक्ष रहेको बताउँदै यसबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रम संस्थाका सचिव विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।




