• २०८३ असार ७
  • 2026 June 21, Sunday

स्वामी अवधेशानन्द गिरीद्वारा जीवित देवी कुमारीको दर्शन, धार्मिक पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । विश्वकै सबैभन्दा प्राचीन जूना अखाडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपाल भ्रमणका क्रममा नेपालकी जीवित देवी कुमारीको दर्शन तथा विधिवत् पूजन गरी एउटा ऐतिहासिक अध्याय रचेका छन्। जीवित देवी कुमारीको दर्शन र पूजन गर्ने उनी पहिलो प्रमुख धर्माचार्य बनेका छन्।

कुमारीको दर्शन गरेपछि अत्यन्त भावविभोर भएका स्वामी अवधेशानन्द गिरीले संक्षिप्त कुराकानी गर्दै जगत् जननी माँ जगदम्बाकी साक्षात् प्रतिमूर्ति रहेकी नेपालकी जीवित देवी कुमारीको दर्शन र पूजन गर्ने सौभाग्य मिलेको बताए। उनले विश्वका सम्पूर्ण हिन्दू समाजसँग अपिल गर्दै आराध्यदेव पशुपतिनाथको यस देवभूमिमा आउँदा कुमारी देवीको दर्शनको सौभाग्य अवश्य प्राप्त गर्न आग्रह गरे।

स्वामी अवधेशानन्दजीले यस्तो धार्मिक, आध्यात्मिक, पौराणिक मान्यता बोकेकी जीवित देवीको दर्शनले नेपाल र भारतबीचको हाम्रो सम्बन्धलाई प्रगाढ मात्र बनाउने नभई यसबाट समस्त विश्वकै कल्याण हुन सक्ने पनि बताए।

यस विशेष अवसरलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण मानिएको छ। नेपालको प्राचीन परम्परामा कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ, जसको विशेष महत्त्व खासगरी नेवार समुदायमा छ। नेवार समुदायको मान्यता अनुसार कुमारी देवी शक्ति, संरक्षण र शुभताको प्रतीक हुन्। शताब्दीयौं पुरानो यो परम्परा नेपालको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ।

स्वामी अवधेशानन्द गिरीको यस कदमलाई नेपालको आध्यात्मिक विरासतलाई वैश्विक स्तरमा नयाँ पहिचान दिलाउने माध्यमका रूपमा हेरिएको छ। जानकारहरूका अनुसार यसले तीर्थयात्रीहरूका लागि एउटा नयाँ आध्यात्मिक ढोका खोल्नेछ।

विशेषज्ञहरूका अनुसार, अब पशुपति मन्दिरको दर्शनका लागि नेपाल आउने विश्वभरका श्रद्धालुहरूले जीवित देवी कुमारीको दर्शनलाई पनि आफ्नो तीर्थयात्राको हिस्सा बनाउन सक्नेछन्। यसबाट धार्मिक पर्यटनलाई बढावा मिल्ने मात्र नभई नेपालको अद्वितीय सांस्कृतिक र आध्यात्मिक परम्पराहरूप्रति अन्तर्राष्ट्रिय श्रद्धालुहरूको रुचि पनि बढ्ने अपेक्षा छ।