काठमाडौं । जारी विश्वकप फुटबल २०२६ मा अनुभवी खेलाडीहरूले उमेरलाई चुनौती दिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । यस संस्करणमा पाका खेलाडीहरूको गोलले विश्वकप इतिहासमै नयाँ चर्चा र रेकर्डहरू बनेका छन् ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी र अस्ट्रियाका मार्को अर्नाउटोभिचले हालैका खेलमा गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीहरूको सूचीमा महत्वपूर्ण परिवर्तन ल्याएका छन् ।
उज्वेकिस्तानविरुद्धको खेलमा गोल गर्दै ४१ वर्ष १३८ दिनका रोनाल्डो विश्वकप इतिहासमा दोस्रो सबैभन्दा पाका गोलकर्ता बनेका छन् । त्यस्तै, अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै ३८ वर्ष ३६३ दिनका मेस्सी चौथो स्थानमा उक्लिएका छन् ।
यद्यपि सन् १९९४ को विश्वकपमा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका क्यामरुनका रोजर मिला अझै पनि शीर्ष स्थानमा कायमै छन् । मार्को अर्नाउटोभिचले पनि हालको प्रतियोगितामा गोल गर्दै सूचीमा स्थान सुरक्षित गरेका छन् ।
विश्वकप इतिहासका १० सबैभन्दा बढी उमेरका गोलकर्ता
१. रोजर मिला (क्यामरुन) – ४२ वर्ष ३९ दिन, विरुद्ध रुस (२८ जुन १९९४)
२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – ४१ वर्ष १३८ दिन, विरुद्ध उज्वेकिस्तान (२३ जुन २०२६)
३. पेपे (पोर्चुगल) – ३९ वर्ष २८३ दिन, विरुद्ध स्विट्जरल्याण्ड (६ डिसेम्बर २०२२)
४. लियोनेल मेसी (अर्जेन्टिना) – ३८ वर्ष ३६३ दिन, विरुद्ध अस्ट्रिया (२२ जुन २०२६)
५. गुन्नार ग्रेन (स्वीडेन) – ३७ वर्ष २३६ दिन, विरुद्ध पश्चिम जर्मनी (२४ जुन १९५८)
६. कुआउतेमोक ब्लान्को (मेक्सिको) – ३७ वर्ष १५१ दिन, विरुद्ध फ्रान्स (१७ जुन २०१०)
७. फेलिपे बालोय (पानामा) – ३७ वर्ष १२० दिन, विरुद्ध इङ्गल्याण्ड (२४ जुन २०१८)
८. मार्को अर्नाउटोभिच (अस्ट्रिया) – ३७ वर्ष ५९ दिन, विरुद्ध जोर्डन (१७ जुन २०२६)
९. अब्दुलियो भारेला (उरुग्वे) – ३६ वर्ष २७९ दिन, विरुद्ध इङ्गल्याण्ड (२६ जुन १९५४)
१०. मार्टिन पालेर्मो (अर्जेन्टिना) – ३६ वर्ष २२७ दिन, विरुद्ध ग्रीस (२२ जुन २०१०)