• २०८३ असार १२
  • 2026 June 26, Friday

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्री सहयोग गरेको छ ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले उक्त सामग्रीहरू हस्तान्तरण गरे । सामग्रीहरू सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगरको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सामग्री ग्रहण गर्दै एआईजी मगरले सन नेपाल लाइफले गरेको यो सहयोगप्रति धन्यवाद व्यक्त गरे । प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमतामा वृद्धि पुग्ने र कठिन परिस्थितिमा सर्वसाधारणको ज्यान जोगाउन थप सहज हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरीले देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। फुयालले भने ‘बीमा व्यवसाय नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको छ विपद्पछिको राहत मात्र नभई पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्न सकियोस् भन्ने उद्देश्यले हामीले यी सामग्री उपलब्ध गराएका हौं ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरूका साथै कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाईं र बालाजु शाखा प्रमुख मदन खतिवडाको पनि उपस्थिति रहेको थियो ।

हाल १५० वटा शाखा तथा उप–शाखा कार्यालयहरूबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको सन नेपाल लाइफले शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सन नेपाल लाइफले १५० शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस किसिमको कार्यहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।