काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष पुगेको अवसरमा आयोजना गरेको ऐतिहासिक ‘स्वर्ण उत्सव समारोह’ काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यता तथा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको सभापतित्वमा सो विशेष समारोह सम्पन्न भएको हो। वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडको अग्रसरतामा काठमाडौं जिल्लामा स्थापना भएको नाडाले आफ्नो ५० वर्षको सफल यात्रा पूरा गरी स्वर्ण महोत्सव मनाएको हो।
स्वर्ण उत्सवलाई अविस्मरणीय बनाउन नाडाले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो। समारोहको सुरुवातमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि दरबारमार्गस्थित होटल याक एण्ड यतिसम्म एक बृहत् ‘वाकाथन’ कार्यक्रम गरिएको थियो। उक्त वाकाथनमा नाडाका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू, नाडाका पूर्व अध्यक्षहरू, सदस्य कम्पनीका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

समारोहकै अवसरमा नाडाले संस्थाको नेतृत्व गरिसकेका आफ्ना पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत गरेको छ। यो स्वर्ण उत्सव समारोह असार १३ गते सम्पन्न भए तापनि यसको खुसियालीमा असार १९ गतेसम्म हप्ताव्यापी रूपमा राजधानीका साथै सातै प्रदेशमा विभिन्न कार्यक्रमहरू सञ्चालन हुने नाडाले जनाएको छ।
५० वर्षको अवधिमा नाडाले २३ वटा सफल अधिवेशनहरू सम्पन्न गरिसकेको छ भने हालसम्म २१ जना अध्यक्षहरूले संस्थाको सफल नेतृत्व गरेका छन्। अटोमोबाइल क्षेत्रको विकासका लागि नाडाले ३६औँ संस्करणको ‘अटोमोबाइल ट्रेड डाइरेक्टरी’, ५औँ संस्करणको ‘नाडा अटो न्यूज’ र १८औँ संस्करणको ‘डेस्क क्यालेन्डर’ समेत प्रकाशित गरिसकेको छ।
त्यस्तै, संस्थाले आगामी भदौ महिनामा १८औँ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्ने तयारी गरिरहेको पनि जानकारी दिएको छ।

सन् २०१५ देखि ISO 9001:2015 प्रमाणित संस्थाको रूपमा रहेको नाडा, नेपाल उद्योग वाणिज्य महासंघबाट उत्कृष्ट वस्तुगत एसोसिएसनको पुरस्कारबाट समेत पटक-पटक सम्मानित भइसकेको छ। व्यावसायिक हकहितका साथै राष्ट्रिय विपत्तिको समयमा पनि नाडाले सहयोगी भूमिका खेल्दै आएको छ।
उक्त स्वर्ण उत्सव महोत्सव कार्यक्रमको संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव मिलनबाबु मल्लले गरेका थिए ।


