• २०८३ असार २८
  • 2026 July 12, Sunday

आधुनिक कतारका ‘आर्किटेक्ट’ शेख हमाद बिन खलिफा अल थानीको निधन

कतारलाई सानो खाडी राष्ट्रबाट विश्वकै धनी र प्रभावशाली राष्ट्रमध्ये एकमा रूपान्तरण गर्ने पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधन भएको छ। ७४ वर्षीय उनको आइतबार निधन भएको हो।

शेख हमादलाई आधुनिक कतारका आर्किटेक्टका रुपमा चिनिन्छ। उनले सन् १९९५ मा सत्ता सम्हालेका थिए। उनले आफ्नो देशको विशाल प्राकृतिक ग्यासको उपयोग गर्दै विकास, सुधार र शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिएका थिए।

उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ गुणा भन्दा बढीले वृद्धि भएको थियो। प्राकृतिक ग्यासको उत्पादन विस्तार भएपछि कतार सन् २००६ सम्ममा विश्वकै सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यातकर्ता राष्ट्र बन्न सफल भयो।

कतार सरकारको तथ्यांक अनुसार छोटो समयमै देशको वार्षिक एलएनजी उत्पादन क्षमता ७ करोड ७० लाख टन पुगेको थियो।

उनको पालामा कतारले थुप्रै राजनीतिक, आर्थिक तथा सामाजिक सुधारका महत्वाकांक्षी योजनाहरू अघि बढाएको थियो।

उनले नै कतार फाउन्डेसनको स्थापना गरेका थिए। सन् १९९६ मा अल जजिरा समाचार च्यानलको सुरुवातको जस समेत उनलाई नै जान्छ।

यतिमात्र हैन, उनको पालामा अर्थात्, सन् २००४ मा कतारको पहिलो स्थायी संविधान जारी गरिएको थियो । संविधानमार्फत स्थानीय तहको निर्वाचन सुरु गरिएको थियो । निर्वाचनमा महिलालाई मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्रदान गरियो।

उनकै नेतृत्वमा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्‍यो।

शेख हमादको जन्म सन् १९५२ को जनवरीमा दोहामा भएको थियो। बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट अध्ययन पुरा गरेपछि उनी कतारको सशस्त्र सेनाको कमान्डर बने। सन् १९७७ मा उनी युवराज तथा रक्षामन्त्री नियुक्त भए। त्यसपछि सन् १९९५ जुन २७ मा अमिरको जिम्मेवारीमा रहे।

तर सन् २०१३ जुन २५ मा उनले अरब क्षेत्रमा दुर्लभ मानिएको स्वेच्छिक सत्ता हस्तान्तरण गर्दै आफ्ना उत्तराधिकारी तथा तत्कालीन युवराज शेख तामिम बिन हमाद अल थानीलाई नेतृत्व हस्तान्तरण गरे।

त्यसबेला बेलायतबाट उच्च शिक्षा हासिल गरेका युवराज शेख तामिम ३३ वर्षका थिए।

सत्ता त्यागको घोषणा गर्दै शेख हमादले भनेका थिए, “भविष्य अब यस मातृभूमिका सन्तानहरूको हातमा छ। युवा नेतृत्वले नयाँ युगको सुरुवात गर्दै राष्ट्रको झण्डा अघि बढाउनेछ।”

शेख हमादमा कतारलाई अन्तर्राष्ट्रिय कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिकोण रहेको थियो। उनको नेतृत्वमा कतारले सुडानको डार्फर युद्ध, लेबनानका राजनीतिक गुटबीचको विवाद तथा प्यालेस्टिनी समूह हमास र फताहबीचको मतभेद समाधानका प्रयासमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्‍यो।

उनले सत्ता छाड्नुअघि कतारले अफगानिस्तानको तालिबानका लागि औपचारिक कार्यालय खोल्न अनुमति दिएको थियो। यसले अमेरिका र तालिबानबीचको वार्ताको आधार तयार गर्‍यो, जसको परिणामस्वरूप सन् २०२१ मा नेटो र अमेरिकाले अफगानिस्तानबाट अव्यवस्थित रूपमा फिर्ता हुने प्रक्रिया अघि बढाएको थियो।

उनले ‘अरब स्प्रिङ’ भनिने जनआन्दोलनहरूको समर्थन गरेका थिए। उनले सिरियामा व्यापक सरकारविरोधी आन्दोलन चर्किँदा तत्कालीन राष्ट्रपति बशार अल–असदलाई पद त्याग्न आग्रह गरेका थिए। पछि असद सरकारले प्रदर्शनकारीमाथि दमन गरेपछि कतारले दमास्कससँगको सम्बन्ध नै तोड्यो।

लिबियामा भने कतारले नेटोको सैन्य अभियानलाई समर्थन गरेको थियो।

उनी प्यालेस्टिनी जनताको स्वतन्त्रताको संघर्षको पक्षधर थिए। शासन छाड्नुअघि उनी गाजा भ्रमणमा निस्किएका थिए। प्यालेस्टिनी जनताप्रति उनको समर्थनको सम्मानस्वरूप गाजा र दक्षिण लेबनानका केही शहरहरूको नाम उनकै नाममा राखिएको थियो।