काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् । अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट सफाई पाएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार उनको निलम्बन फुकुवा भएसँगै सोमबार उनी टेलिकममा पुनर्बहाली भएकी हुन् ।
पदबहाली कार्यक्रममा प्रबन्ध निर्देशक अर्यालले कम्पनीका कर्मचारीहरूलाई विशेष सम्बोधन गर्नुहुँदै संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न डराउन नपर्ने बताइन ।
उनले विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रमको बादल हटेर अन्ततः सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरिन ।
सम्बोधनकै क्रममा उनले कम्पनीमा प्रक्रियागत सुधारको आवश्यकता औँल्याउँदै आगामी दिनमा आन्तरिक मात्र नभई बाह्य दृष्टिकोणलाई समेत ध्यानमा राखेर कार्य गरिने र नेपाल सरकारको भावना एवं मार्गनिर्देशन अनुरूप अविचलित तथा सत्यनिष्ठ भई नेपाल टेलिकमको जनआस्था र बजारको साखलाई थप सुदृढ बनाइ कम्पनीको सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन ।