• २०८३ असार ३२
  • 2026 July 16, Thursday

युक्रेनी ड्रोन आक्रमणपछि रुसले रोक्यो दुई समुद्री मार्गमा आवागमन, अन्तर्राष्ट्रिय व्यापार प्रभावित

काठमाडौँ । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणका कारण रुसले एजोभ सागरका दुई महत्त्वपूर्ण समुद्री मार्गमा जहाजको आवागमन अस्थायी रूपमा रोक्न बाध्य भएको छ । यसले रुसको अन्तर्राष्ट्रिय व्यापार प्रभावित हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एजोभ सागर रुसका लागि तेल, गहुँ, इस्पात, सूर्यमुखीको तेललगायतका सामग्री विश्व बजारमा निर्यात गर्ने प्रमुख समुद्री मार्ग मानिन्छ ।

युक्रेनको ड्रोन फौजका कमान्डर रोबर्ट ब्रोभदीले पछिल्ला नौ दिनमा एजोभ सागर क्षेत्रमा रुसी ११६ वटा जहाजलाई निशाना बनाइएको दाबी गरेका छन् । यसअघि युक्रेनका आक्रमण मुख्य रूपमा रुसी युद्धपोत र तेल बोक्ने जहाजमा केन्द्रित भए पनि पछिल्ला महिनामा त्यसको दायरा विस्तार भएको छ । लगातारको आक्रमणपछि रुसले डन-एजोभ जलमार्ग र केर्च जलडमरूमध्य हुँदै हुने जहाज आवागमन रोकेको छ । यी दुवै मार्ग एजोभ सागरलाई रुसको आन्तरिक जलमार्ग तथा कालो सागरसँग जोड्ने अत्यन्त महत्त्वपूर्ण नाका हुन् ।

उपग्रह तस्बिर र जहाजको आवागमन निगरानी गर्ने प्रणालीका अनुसार यी समुद्री मार्गका दुवै किनारमा ठूलो सङ्ख्यामा जहाज रोकिएका छन् । विश्लेषकहरूका अनुसार यसको असर तेल व्यापारमा मात्र सीमित रहने छैन । गहुँ, सूर्यमुखीको तेल तथा अन्य कृषि उत्पादनको निर्यात पनि प्रभावित हुन सक्छ । अमेरिकास्थित युद्ध अध्ययन संस्थानले युक्रेनको उद्देश्य क्रिमियालाई रुसी आपूर्ति सञ्जालबाट अलग गर्नु र समुद्री मार्गमार्फत हुने तेल तथा अन्नको निर्यातमा अवरोध सिर्जना गर्नु रहेको जनाएको छ ।

रिपोर्टका अनुसार रुसको करिब २५ प्रतिशत गहुँ एजोभ सागरमार्फत निर्यात हुने गर्छ । संकट लम्बिएमा रुसलाई अर्बौं डलर बराबरको आर्थिक क्षति हुन सक्ने अनुमान गरिएको छ । विश्वकै सबैभन्दा ठूलो गहुँ निर्यातकर्ता रुसबाट विश्व निर्यातको करिब २० प्रतिशत गहुँ आपूर्ति हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा गहुँको मूल्य पनि बढ्न थालेको छ । रुसले अन्य बन्दरगाह प्रयोग गरेर निर्यात निरन्तर राख्न सकिने दाबी गरे पनि व्यस्त निर्यात मौसममा ती बन्दरगाहको क्षमता पर्याप्त नहुने विज्ञहरूको भनाइ छ ।

एजोभ सागर युक्रेन र रुसबीच अवस्थित भित्री समुद्र हो, जुन केर्च जलडमरूमध्यमार्फत कालो सागरसँग जोडिएको छ। सन् २०१४ मा क्रिमिया नियन्त्रणमा लिएपछि रुसले यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको थियो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि एजोभ सागर आसपासका अधिकांश युक्रेनी तटीय क्षेत्र पनि रुसको नियन्त्रणमा पुगेका थिए । सानो आकारको भए पनि दक्षिणी रुसबाट विश्व बजारसम्म ऊर्जा, कृषि तथा औद्योगिक सामग्री ढुवानीका लागि यो समुद्री मार्ग अत्यन्त रणनीतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।