• २०८३ साउन १
  • 2026 July 17, Friday

इरानमा अमेरिकाको आक्रमण तीव्र : निशानामा रेलमार्ग, स्टेशन, विमानस्थल तथा सञ्चार पूर्वाधार

काठमाडौँ । पश्चिम एसियामा तनाव झन् चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई दिनअघि दिएको चेतावनीपछि अमेरिकाले इरानमाथि आक्रमण तीव्र बनाएको छ ।

अमेरिकी सेनाले लगातार छैटौँ रात पनि इरानका विभिन्न क्षेत्रमा आक्रमण गरेको छ । यसपटक सैन्य संरचनासँगै सर्वसाधारणले प्रयोग गर्ने पुल, रेलमार्ग, रेल्वे स्टेशन, विमानस्थल तथा सञ्चार पूर्वाधारलाई पनि निशाना बनाइएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । आक्रमण विशेषगरी व्यापारिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य आसपासका दक्षिणी प्रान्तहरूमा केन्द्रित रहेको बताइएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डले आक्रमणको उद्देश्य इरानको सैन्य क्षमता कमजोर बनाउनु रहेको दाबी गरेको छ । तर इरानले अमेरिकाले जानाजानी नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ । आक्रमणका क्रममा इरानशहर विमानस्थलमा क्षेप्यास्त्र प्रहार भएको, बन्दर अब्बासको मुख्य रेल्वे स्टेशनमा बमबारी हुँदा दुई कर्मचारी गम्भीर घाइते भएको तथा होर्मोजगान प्रान्तका दुई महत्वपूर्ण पुल ध्वस्त हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ । पुल भत्किएपछि बन्दर अब्बास, खमीर र लारबीचको सडक सम्पर्क समेत विच्छेद भएको छ ।

त्यसैगरी, बन्दर अब्बासस्थित सञ्चार टावरमा भएको आक्रमणपछि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको तथा सात जना घाइते भएका छन् । केशम द्वीप, बुशहर र अहवाजलगायतका सहरमा पनि शक्तिशाली विस्फोट भएको इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसअघि ट्रम्पले इरान वार्तामा नआए विद्युत् गृह, पुल र अन्य महत्वपूर्ण संरचनालाई निशाना बनाइने चेतावनी दिएका थिए । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानका लागि आगामी सातालाई “अत्यन्त कठिन” हुने बताएका थिए । त्यसलगत्तै अमेरिकी सेनाले विभिन्न पूर्वाधारमा आक्रमण विस्तार गरेको हो ।

यस घटनापछि खाडी क्षेत्रमा थप अस्थिरता बढेको छ । शुक्रबार कुवेतको आकाशमा ३२ वटा शंकास्पद ड्रोन देखिएको जनाइएको छ । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासले पनि आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यता अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप इरानले बहराइन र कुवेततर्फ क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको बताइएको छ । यी दुवै देशमा अमेरिकी सेनाका महत्वपूर्ण सैन्य अड्डा रहेका छन् । होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावसँगै अमेरिका-इरानबीचको द्वन्द्व थप चर्किएको छ । अमेरिकी सेनाले पहिलोपटक राजधानी तेहरान र इरानको प्रमुख क्षेप्यास्त्र केन्द्र मानिने सेमनान प्रान्तलाई समेत निशाना बनाएपछि सम्पूर्ण खाडी क्षेत्रमा युद्धको जोखिम अझ बढेको विश्लेषण गरिएको छ ।