• २०८३ साउन ८
  • 2026 July 24, Friday

भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले २०८२ भदौ २३ र २४ गते भएको घटनाक्रमलाई प्रतिक्रान्तिकारी परिघटना भन्दै त्यसमा वैदेशिक दबाब र हस्तक्षेप देखिएको दाबी गरे ।

उनले नेपालको सुरक्षा निकायको भूमिका र समग्र राजनीतिक शक्तिको अवस्थाप्रति प्रश्न उठाउँदै त्यसको वैज्ञानिक समीक्षा नगरी वर्तमान चुनौतीको सामना गर्न नसकिने बताए ।

प्रचण्डले भने, ‘२०८२ भदौको २३ र २४ गते जुन प्रतिक्रान्तिकारी परिघटना हामीले देख्यौं, जसको वैदेशिक दबाब र हस्तक्षेप पनि देख्यौं । नेपालको सुरक्षा निकायको जस्तो निरीहता हामीले आफ्नै आँखाअगाडि देख्नुपर्यो । सायद नेपालको इतिहासमा सुगौली सन्धिपछि यस्तो निरीहता हामी कसैले इतिहासमा पढ्न पनि परेको थिएन ।’

उनले विगतमा अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली सेना र कमाण्डरहरूको इतिहास स्मरण गर्दै अहिलेको अवस्था किन सिर्जना भयो भन्ने प्रश्न गरे ।

उनले भने, ‘अंग्रेजसँग वीरतापूर्वक लड्ने नेपाली, नेपाली सेना र कमाण्डरहरू भएको शक्ति अहिले आएर यो अवस्थामा के ले पुग्यो ? हामीले हिजो सामन्ती निरंकुशतन्त्रका दमन र अत्याचारविरुद्ध कहिले सशस्त्र संघर्ष, कहिले शान्तिपूर्ण आन्दोलन, कहिले जनयुद्ध र कहिले जनआन्दोलनमार्फत नेपाली जनताको विद्रोहको तागत प्रदर्शन गरेका थियौं । तर भदौ २३ र २४ गतेको घटनासम्म आइपुग्दा वामपन्थी दलहरू किन यति निरीह र शक्तिहीन भए ? त्यसको समुचित, यथोचित र वैज्ञानिक समीक्षा नगरी आजका चुनौतीहरूको सामना गर्न सकिँदैन ।’

प्रचण्डले विगतमा कमीकमजोरीको समीक्षा र आत्मआलोचना हुँदै आए पनि अहिलेको परिस्थितिले सामान्य समीक्षा मात्र पर्याप्त नहुने बताए । उनले वामपन्थी आन्दोलनले कतै गम्भीर त्रुटि गरेको स्वीकार गर्दै हालको अवस्था त्यसैको परिणाम भएको हुन सक्ने धारणा व्यक्त गरे ।

उनले भने, ‘थुप्रै कुरा भन्न सकिन्छ । हामीले विगतमा थुप्रै कमीकमजोरीहरूको समीक्षा र आत्मआलोचना पनि गरेका छौं । तर यो पटक त्यस्तो सामान्य समीक्षा र सामान्य आत्मआलोचनाले पुग्ने स्थिति छैन । हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौं ।’

प्रचण्डले आफ्नै आँखाअगाडि नेपालका धरोहर तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र विध्वंस भएको घटनाले गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसका कारणबारे गहिरो विश्लेषण आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले कहीँ न कहीँ यति भयानक परिस्थिति सिर्जना हुने, हाम्रा आँखाअगाडि नेपालका धरोहरहरू जलाइने, सबै राजनीतिक दलका पार्टी कार्यालयहरू जलाइने, त्यहाँ रहेका इतिहाससँग सम्बन्धित थुप्रै सामग्रीहरू जलाइने र एकै दिनमा विध्वंस गर्ने परिघटना के कारणले भयो भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्छ ।’