• २०८३ साउन १०
  • 2026 July 26, Sunday

जर्मनीमा भीडमाथि गाडी दौडिएपछि एकको मृत्यु, १७ जना घाइते

काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटना टियरगार्टेन पार्क नजिक भएको हो । घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।

बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार एउटा सवारीसाधन टियरगार्टेन पार्कमा प्रवेश गरी धेरै मानिसलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि घटना नियोजित आक्रमण थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले सम्भावित शंकास्पद व्यक्तिको खोजी तीव्र बनाइएको र घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।

बर्लिन प्रहरीले घाइते १७ जनामध्ये केहीको अवस्था जीवन–मरणको अवस्थामा रहेको जानकारी दिएको छ । पीडितका आफन्तका लागि छुट्टै सूचना केन्द्र पनि स्थापना गरिएको छ । घटनास्थलको निरीक्षणपछि बर्लिनका मेयर काइ वेग्नरले घटनाको कडा निन्दा गर्दै यसलाई बर्लिनको स्वतन्त्र, खुला र सहिष्णु समाजमाथिको आक्रमण भएको बताएका छन् । उनले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको तीव्र अनुसन्धान हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार बर्लिनमा सहिष्णुता र विविधताको पक्षमा आयोजित प्राइड कार्यक्रममा लाखौं सहभागी भएका थिए । ब्रान्डेनबर्ग गेट नजिक सांगीतिक कार्यक्रमसमेत चलिरहेका बेला राति करिब १०ः१५ बजे दुर्घटनापछि परेड तत्काल स्थगित गरिएको थियो ।

प्रहरीले सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढा रहन र आपत्कालीन उद्धार कार्यमा सहयोग गर्न घर फर्किन आग्रह गरेको छ । घटनाको कारण र चालकको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ ।