• २०८३ साउन ११
  • 2026 July 27, Monday

नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्गको शुभारम्भ, यस्तो छ प्रयोगबापतको शुल्क

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका छन् ।

लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ ।

कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा रु ६५ र बाहिरिँदा रु ६० शुल्क तिर्नुपर्नेछ ।

मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा रु ११५ र बाहिरिँदा रु ८० बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा रु २६० र बाहिरिँदा रु २०० बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

सो आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङमार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब बराबरको लगानी रहेको छ ।

यस सुरुङमार्गलाई नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग मानिएको छ । सुरुङमार्ग तयार पार्न जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी गरी झन्डै २५ अर्ब रुपैयाँ खर्च भएको छ।