• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

उपायको आक्रामक विस्तार : एकै वर्षमा ५४ प्रतिशतको व्यापार वृद्धि, १,५०० भन्दा बढीलाई रोजगारी

काठमाडौं । नेपालको डिजिटल तथा ई-कमर्स बजारमा लजिस्टिक्स सेवा प्रदान गर्दै आएको कम्पनी ‘उपाय’ले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको छ। कम्पनीले आफ्नो कारोबारमा ५४ प्रतिशतको वृद्धि गर्दै देशभर व्यवसाय विस्तार गरेको जनाएको छ।

सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवामार्फत नेपालभरका अनलाइन विक्रेता, उद्योग र उपभोक्तालाई जोड्दै आएको छ। पछिल्लो समय ई-कमर्स र डिजिटल व्यापारको बढ्दो मागसँगै कम्पनीले आफ्नो पूर्वाधार र सेवा क्षमतामा ठूलो लगानी गरेको छ।

रोजगारी सिर्जनामा ठूलो फड्को

गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको यस कम्पनीमा अहिले १,५०० भन्दा बढी कर्मचारी प्रत्यक्ष रूपमा कार्यरत छन्। प्रत्यक्ष रोजगारीका साथै ५,००० भन्दा बढी डेलिभरी पार्टनर, ट्रान्सपोर्ट साझेदार र स्थानीयवासीले अप्रत्यक्ष रोजगारी पाएका छन्। कम्पनीका एभीपी-ह्युमन रिसोर्सेस राजु केसीका अनुसार एक वर्षमै कर्मचारी संख्या चार गुणाले वृद्धि हुनुले नेपालको श्रम बजारमा सकारात्मक प्रभाव पारेको छ।

देशभर संजाल र डेलिभरी क्षमतामा वृद्धि

उपायले आफ्नो सेवा संजाललाई ४० शाखाबाट विस्तार गरेर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र पुऱ्याएको छ। हाल कम्पनीको उपस्थिति नेपालका सबै जिल्लामा छ भने देशभर ५,००० भन्दा बढी विन्दुबाट डेलिभरी प्रदान गरिरहेको छ। केही वर्षअघि दैनिक १,००० पार्सल मात्र डेलिभरी गर्ने गरेकोमा अहिले औसत दैनिक १५,००० पार्सल वितरण भइरहेको कम्पनीले जनाएको छ।

साँगामा नेपालकै पहिलो ‘३पीएल’ वेयरहाउस

पूर्वाधार विकासतर्फ उपायले काभ्रेको साँगामा १८ रोपनी जग्गामा नेपालकै पहिलो अत्याधुनिक ‘३पीएल’ (Third-Party Logistics) वेयरहाउस निर्माण गरिरहेको छ। करिब ४५,००० वर्गफुट क्षेत्रफलमा फैलिने यो वेयरहाउस आगामी ६ महिनाभित्र सञ्चालनमा आउने लक्ष्य राखिएको छ। यसको कुल भण्डारण क्षमता १,४०,००० वर्गफुट बराबर हुनेछ। हाल कम्पनीले काठमाडौंको पेप्सीकोलामा १८,००० वर्गफुटको वेयरहाउसबाट सेवा दिइरहेको छ।

दीर्घकालीन रणनीति र आगामी लक्ष्य

उपायको ‘फुलफिलमेन्ट’ डिभिजनका प्रेसिडेन्ट संगम पौडेलले तत्कालको बजार आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई मध्यनजर गर्दै लगानी बढाइएको बताए। उनले भने, “हाम्रो उद्देश्य नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यवस्थित र स्केलेबल लजिस्टिक्स समाधान उपलब्ध गराउनु हो।”

आगामी दिनमा कम्पनीले देशव्यापी नेटवर्क विस्तार, थप ३पीएल सुविधा र आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित प्रविधिको प्रयोग गरी नेपाली लजिस्टिक्स क्षेत्रलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउने योजना बनाएको छ।