किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने योजना सार्वजनिक गरेलगत्तै रूसले राजधानी किभमा भिषण हवाई आक्रमण गरेको छ । अमेरिकी सञ्चार माध्यम सिएनएनका अनुसार आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
करिब १० घण्टासम्म चलेको यो आक्रमण वर्षकै सबैभन्दा लामो आक्रमणमध्ये एक भएको किभ प्रशासनलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । आक्रमणका कारण राजधानीका विभिन्न क्षेत्रहरूमा व्यापक क्षति पुगेको छ । रातभर भएको आक्रमणका क्रममा किभका सर्वसाधारणले मेट्रो स्टेशनहरूमा आश्रय लिनुपरेको थियो । युक्रेनी वायुसेनाका अनुसार रूसले एकै रातमा ५१९ वटा ड्रोन र ४० वटा मिसाइल प्रहार गरेको थियो ।
यस आक्रमणको प्रभाव छिमेकी देशहरूमा पनि परेको छ । पोल्याण्डले सम्भावित खतरा बढेपछि आफ्ना लडाकु विमानहरू आकाशमा पठाएको र दुई वटा विमानस्थल अस्थायी रूपमा बन्द गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका प्रयास भइरहेका बेला रुसले यस वर्षकै सबैभन्दा लामो र भिषण आक्रमण गरेको बताइएको छ । रुसको यस आक्रमण जेलेन्स्की र ट्रम्पबिच आइतबारका लागि तय भएको भेटको पूर्वसन्ध्यामा भएको हो ।
यसैबीच, शनिबार अमेरिका जाने क्रममा विमानमै बोल्दै राष्ट्रपति जेलेन्स्कीले ट्रम्पसँगको भेटमा कानुनी रूपमा बाध्यकारी सुरक्षा ग्यारेन्टी खोज्ने बताएका छन् । कुनै पनि शान्ति सम्झौतामा युक्रेनको दीर्घकालीन सुरक्षा सुनिश्चित हुनुपर्ने उनको जोड थियो । रूसको निरन्तर आक्रमणका कारण थप मिसाइल र हवाई रक्षा प्रणालीको आवश्यकता रहेको जेलेन्स्कीको भनाइ छ ।
ट्रम्पसँग भेट अघि जेलेन्स्की क्यानडा पुग्नेछन् । त्यहाँ उनले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग वार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकी पत्रिका ‘पोलिटिको’ सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँगको भेट सुखद हुने अपेक्षा रहेको बताएका छन् । तर ट्रम्पले युक्रेनी राष्ट्रपतिले आफ्नो (ट्रम्पको) स्वीकृति बिना केही पनि पाउँदैनन् भनेर टिप्पणी समेत गरे । ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि सकेसम्म छिटो वार्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।
अमेरिकी अधिकारीहरूले जेलेन्स्की-ट्रम्प भेट सफल हुने आशा व्यक्त गरेका छन् । यद्यपि भेटको स्पष्ट उद्देश्य भने सार्वजनिक गरिएको छैन ।