• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

खालिदा जियाको अन्त्येष्टि: पति जियाउर रहमानको शव निकालेर पुनः गाडिएको त्यो इतिहास

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको मंगलबार निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियालाई राजकीय सम्मानका साथ ढाकाको शेर–ए–बंगला नगरमा उनका दिवंगत पति जियाउर रहमानको चिहान नजिकै समाधिस्थ गरिएको छ।

यससँगै ४४ वर्षअघि उनका पति तथा पूर्वराष्ट्रपति जियाउर रहमानको हत्या, गोप्य चिहान र पछि शव निकालेर ढाका ल्याइएको घटना पुनः चर्चामा आएको छ।

बंगलादेशका पूर्वराष्ट्रपति एवं स्वतन्त्रता संग्रामका कमान्डर जियाउर रहमानको ३० मे १९८१ मा चट्टगाउँमा भएको सैनिक ‘कू’ प्रयासका क्रममा हत्या भएको थियो।

हत्यापछि विद्रोही सैनिक समूहले उनको शवलाई सुरुमा चट्टगाउँको रगुनियास्थित पहाडी क्षेत्रमा गोप्य रूपमा गाडेका थिए। तर, पछि तत्कालीन सरकारको पहलमा शव उत्खनन गरी ढाका ल्याइएको थियो र शेर–ए–बंगला पार्कमा राजकीय सम्मानका साथ पुनः अन्त्येष्टि गरिएको थियो।

हुसेन मोहम्मद इरशाद सरकारको पालामा संसद भवनसँग जोडिएको यो पार्कको नाम ‘चन्द्रिमा उद्यान’ राखिएको थियो। पछि बीएनपी सरकारले यसको नाम परिवर्तन गरी ‘जिया उद्यान’ बनायो। शेख हसिना नेतृत्वको अवामी लीग सरकार आएपछि फेरि ‘चन्द्रिमा उद्यान’ बनाइएको थियो। तर, अवामी लीग सरकारको पतनसँगै अहिले त्यहाँ पुनः ‘जिया उद्यान’ को साइनबोर्ड देखिएको छ।

खालिदा जियाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। बीएनपी

सन् १९८१ मे २९ मा पार्टी भित्रको विवाद मिलाउन चट्टगाउँ पुगेका राष्ट्रपति रहमानमाथि राति सुतेको समयमा सर्किट हाउसमा आक्रमण भएको थियो। विद्रोही सैनिकहरूले उनको हत्या गरी शव बेपत्ता बनाएका थिए।

तत्कालीन ब्रिगेडियर हन्नान शाहले १ जुनमा जियाउर रहमानको शव खोजेका थिए। स्थानीय गाउँलेहरूले पहाडको फेदीमा भर्खरै माटो खनिएको शंकास्पद ठाउँ देखाएपछि त्यहाँ उत्खनन गरिएको थियो। त्यहाँ राष्ट्रपति रहमान र अन्य दुई सैनिक अधिकारीको शव फेला पर्‍यो।

त्यसपछि शवलाई हेलिकप्टरमार्फत राजधानी ढाका ल्याइयो। २ जुनमा संसद भवन परिसरमा लाखौंको उपस्थितिमा नमाज–ए–जनाजा (अन्तिम संस्कारको प्रार्थना) गरियो र शेर–ए–बंगला नगरमा अन्त्येष्टि गरियो।

राजनीतिक इतिहासका शोधकर्ता मोहिउद्दिन अहमदका अनुसार, तत्कालीन कार्यवाहक राष्ट्रपति जस्टिस अब्दुस सत्तारको मन्त्रिपरिषद्ले जियाउर रहमानलाई संसद भवन नजिकै राजकीय सम्मानका साथ गाड्ने निर्णय गरेको थियो। जियाउर रहमानले देशमा बहुदलीय लोकतन्त्र स्थापना गरेको कारण उनलाई त्यो सम्मान दिइएको तत्कालीन उपमन्त्री एबीएम रुहुल अमीन बताउँछन्।

अहिले सोही ऐतिहासिक स्थानमा उनकी पत्नी खालिदा जियालाई पनि पतिसँगै चीर निद्रामा सुताइएको छ।

– बीबीसी हिन्दीको सहयोगमा ।