भेनेजुएलाको राजधानी काराकासमा शनिबार बिहानै भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मदुरोलाई ‘पक्राउ गरेको’ घोषणा गरेका छन्।
यसका साथै ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘टुथ सोसल’मा निकोलस मदुरोको एक तस्बिर शेयर गरेका छन्। लगत्तै फ्लोरिडामा आयोजित एक प्रेस कन्फरेन्समा उनले भेनेजुएलामा अब अमेरिकाको भूमिका कस्तो हुनेछ भन्ने जानकारी पनि दिएका छन्।
उता अमेरिकी महान्यायाधिवक्ता (अटोर्नी जनरल) ले न्युयोर्कको सदर्न डिस्ट्रिक्टमा मदुरो र उनकी पत्नीविरुद्ध कानुनी मुद्दा चलाइने बताएकी छन्।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले भने देशका राष्ट्रपतिको जीवित रहेको प्रमाण माग गरेकी छन्। उनले मादुरो र उनकी पत्नीको अवस्थाबारे कुनै जानकारी नभएको बताएकी छन्।
भेनेजुएलामा सैन्य परिचालन र अन्तर्राष्ट्रिय निन्दा
भेनेजुएलाका रक्षामन्त्रीले देशभर तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गरेका छन्।
यसैबीच, रुस, चीन र कोलम्बियाले अमेरिकी आक्रमणको निन्दा गरेका छन्। रुसी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकाले भेनेजुएलाविरुद्ध सशस्त्र आक्रमण गरेको छ, जो गहिरो चिन्ताको विषय हो र यसको निन्दा गरिनुपर्छ।’
डोनाल्ड ट्रम्पको प्रेस कन्फरेन्स र तस्बिर सार्वजनिक
डोनाल्ड ट्रम्पले शनिबार राति (भारतीय समयअनुसार) टुथ सोसलमा नयाँ तस्बिर शेयर गर्दै लेखेका छन्, ‘निकोलस मदुरो युएसएस इभो जिमा (युद्धपोत) मा।’ फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले मादुरोलाई सोही युद्धपोतबाट अमेरिका ल्याइँदै गरेको बताएका थिए।
सार्वजनिक गरिएको तस्बिरमा मादुरोको आँखामा ‘आई मास्क’ (पट्टी) लगाइएको छ, उनले खैरो रङको ट्रयाकसुट लगाएका छन् र कानमा हेडफोन छ। फ्लोरिडास्थित आफ्नो निवास मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले भेनेजुएलालाई सुरक्षित, सही र समझदारीपूर्ण सत्ता परिवर्तन नहुन्जेलसम्म सञ्चालन गर्ने बताए।
ट्रम्पले अमेरिकी सेनाको तीव्र गति, शक्ति, सटिकता र क्षमताको प्रशंसा गरे। उनले भने, भेनेजुएलाको सेना हाम्रो प्रतीक्षामा थियो, तर उनीहरू पूर्ण रूपमा डराए र धेरै चाँडै असफल भए।’
यस अपरेसनका क्रममा कुनै पनि अमेरिकी सैनिक मारिन नपरेको र हतियार वा सामग्रीमा क्षति नपुगेको दाबी ट्रम्पले गरेका छन्। साथै, उनले अमेरिकाले समुद्र मार्गबाट हुने ९७% लागुऔषध तस्करी अन्त्य गरेको दाबी गर्दै तस्करी हुने हरेक डुङ्गाले औसतमा २५,००० मानिसको ज्यान लिने गरेको आरोप लगाए।
मादुरो दम्पतीविरुद्ध आरोपहरू
अमेरिकी अटोर्नी जनरल पामेला बान्डीले निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि न्युयोर्कमा मुद्दा चल्ने जानकारी दिएकी छन्। बान्डीले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘निकोलस मादुरोमाथि अमेरिकाविरुद्ध ‘नार्को-टेररिज्म’ (लागुऔषध आतंकवाद) को षड्यन्त्र, कोकिन आयातको षड्यन्त्र तथा मेसिनगन र खतरनाक हतियार राखेको आरोप लगाइएको छ। उनले चाँडै अमेरिकी अदालतमा न्यायको सामना गर्नेछन्।’
अमेरिकी अधिकारीहरूले बीबीसीको सहयोगी संस्था सीबीएस न्युजलाई बताएअनुसार मादुरो र उनकी पत्नीलाई अमेरिकी सेनाको ‘डेल्टा फोर्स’ले पक्राउ गरेको हो। डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख प्रतिआतंकवाद एकाइ हो।
भेनेजुएलाको प्रतिक्रिया
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सरकारलाई राष्ट्रपति मादुरो वा प्रथम महिला सिलिया फ्लोरेसबारे कुनै जानकारी नभएको बताउँदै उनीहरू जीवित रहेको तत्काल प्रमाण माग गरेकी छन्।
काराकासमा भएका आक्रमणहरूबाट सैन्य पूर्वाधारमा कति क्षति पुग्यो र कति हताहत भए भन्ने यकिन विवरण आइसकेको छैन। भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले मृतक र घाइतेहरूको विवरण सङ्कलन गरिरहेको बताए। उनले आक्रमण आवासीय क्षेत्रमा भएको आरोप लगाएका छन्।
रक्षामन्त्री लोपेजले भने, ‘उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर हामीलाई झुकाउन सक्ने छैनन्।’ उनले विदेशी सैनिकहरूको उपस्थितिको कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
प्रत्यक्षदर्शीको भनाइ
काराकासमा रहेकी बीबीसी पत्रकार भेनेसा सिल्भाले आफ्नो झ्यालबाट विष्फोट देखेको बताइन्। उनका अनुसार विष्फोटको आवाज ‘चट्याङ परेको भन्दा पनि ठूलो’ थियो, जसले घर नै हल्लिएको थियो। राजधानी काराकास उपत्यकामा रहेकाले विष्फोटको आवाज सहरभर गुन्जिएको थियो।
सहरको मध्यभागमा रहेको ला कार्लोटा सैन्य विमानस्थल र मुख्य सैन्य आधार शिविर फुएर्ते तिउना पनि आक्रमणबाट प्रभावित भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।