• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

भेनेजुएलामा अमेरिकी आक्रमणमा १०० जनाको मृत्यु

भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले गत शनिबार भएको अमेरिकी आक्रमणमा १०० जनाको मृत्यु भएको दाबी गरेका छन्। सोही सैन्य कारबाहीमार्फत राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरिएको थियो।

बुधबार अबेर राति राज्य नियन्त्रित टेलिभिजनमा बोल्दै गृहमन्त्री काबेलोले उक्त हताहतीको जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि भेनेजुएला सरकारले मृतकको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन, यद्यपि सेनाले आफ्ना २३ जना सैनिकहरूको नामावली सार्वजनिक गरेको थियो।

भेनेजुएलाका अधिकारीहरूका अनुसार मादुरोको सुरक्षामा खटिएका ठूलो संख्याका सुरक्षाकर्मीहरूलाई “निर्मम तरिकाले” मारिएको छ। यता क्युबाले पनि भेनेजुएलामा रहेका आफ्ना सैन्य र गुप्तचर निकायका सदस्यहरू सो क्रममा मारिएको बताएको छ।

गृहमन्त्री काबेलोका अनुसार अमेरिकी छापाका क्रममा मादुरोसँगै पक्राउ परेकी उनकी पत्नी सिलिया फ्लोरेसको टाउकोमा चोट लागेको छ। यस्तै, पूर्व राष्ट्रपति निकोलस मादुरोको खुट्टामा चोट लागेको छ। उनीहरू दुवै अहिले अमेरिकी नियन्त्रणमा रहेका छन्।

यसैबीच, भेनेजुएलाले उक्त कारबाहीमा मारिएका सैन्य अधिकारीहरूको सम्मानमा एक हप्ताको राष्ट्रिय शोक घोषणा गरेको छ। गृहमन्त्री काबेलोले मारिएका सैनिकहरूलाई “साहसी” भन्दै प्रशंसा गरेका छन्। राजधानी काराकासमा बुधबार मारिएका सैनिकहरूको अन्त्येष्टि गरिएको छ, जहाँ ठूलो संख्यामा सैनिक अधिकारीहरूको उपस्थिति रहेको थियो।

अमेरिकी सैन्य टोलीले गत शनिबार राजधानी काराकासमा विशेष अपरेशन सञ्चालन गरी मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो।