• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकाद्वारा नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसामा अनिश्चितकालीन रोक

अमेरिकाले नेपाल, पाकिस्तान र बंगलादेशसहित विश्वका ७५ देशका नागरिकका लागि ‘इमिग्रेशन भिसा प्रोसेसिङ’ (आप्रवासी भिसा प्रक्रिया) मा अनिश्चितकालीन रोक लगाउने घोषणा गरेको छ।

ट्रम्प प्रशासनको यो आदेश सन् २०२६ जनवरी २१ देखि लागू हुनेछ। यस निर्णयले अमेरिकामा कानुनी रूपमा प्रवेश गर्ने र स्थायी बसोबास गर्ने बाटोलाई थप सीमित बनाउने देखिएको छ। हालैका वर्षहरूमा अमेरिकाले लगाएको भिसा प्रतिबन्धमध्ये यो सबैभन्दा कडा कदम मानिएको छ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्तमान भिसा व्यवस्थाको दुरुपयोग अन्त्य गर्न यो कदम चालिएको बताएको छ। मन्त्रालयका प्रमुख उप-प्रवक्ता टमी पिगोटका अनुसार, अमेरिकामा बोझ बन्न सक्ने र त्यहाँको सार्वजनिक कल्याणकारी योजनाहरूमा निर्भर हुन सक्ने सम्भावित आप्रवासीहरूलाई रोक्नु यसको मुख्य उद्देश्य हो।

यसका साथै, सूचीमा परेका सुरुवाती १९ देशका नागरिकका लागि शरण, नागरिकता प्रक्रिया र ग्रीन कार्ड आवेदनमा समेत पूर्ण रोक लगाइएको छ। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोमालिया, रुस र इरानसहित ७५ देशको भिसा रोक्का गरिएको पुष्टि गरेकी छिन्।

यो प्रतिबन्ध केवल ‘इमिग्रेशन’ (स्थायी बसोबासका लागि दिइने) भिसामा मात्र लागू हुनेछ। अस्थायी पर्यटक वा व्यापारिक भिसामा यात्रा गर्नेहरूका लागि यो नियम लागू हुने छैन।

यस सूचीमा दक्षिण एसियाका नेपाल, पाकिस्तान, बंगलादेश र भुटान समावेश छन्।

हालैका दिनहरूमा पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध सुध्रिएको देखिए पनि पाकिस्तान यो सूचीमा परेपछि धेरैले आश्चर्य व्यक्त गरेका छन्। दक्षिण एसियाली मामिलाका विज्ञ माइकल कुगेलम्यानका अनुसार, ‘पाकिस्तान र अमेरिकाबीचको हालैको निकटताले पनि पाकिस्तानलाई यो निर्णयबाट जोगाउन सकेन।’

अर्का विश्लेषक सदानन्द धुमेले कुवेत, थाइल्याण्ड र ब्राजिल जस्ता तुलनात्मक रूपमा सम्पन्न देशहरू पनि यो सूचीमा परेकोमा अचम्म मानेका छन्। भुटानको हकमा भने त्यहाँबाट निष्कासित भई अमेरिका पुगेका नेपाली मूलका भुटानी शरणार्थीहरूको प्रसंगलाई पनि जोडिएको छ।

अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भारत-अमेरिका सम्बन्धलाई २१औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक सम्बन्ध बताएका छन्। उनले पाकिस्तानमा चीनको बढ्दो प्रभावलाई रोक्न अमेरिकाले पाकिस्तानसँग पनि केही हदसम्म काम गर्नुपर्ने सुझाव दिएका छन्।

यी ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया बन्द गरिएको छ:

अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बारबुडा, अर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, म्यानमार (बर्मा), कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोटे डी आइभोरी, क्युबा, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनाडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, कजाकिस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, नेपाल, निकारागुआ, नाइजेरिया, पाकिस्तान, रिपब्लिक अफ कङ्गो, रुस, रुवान्डा, सेन्ट किट्स र नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट र ग्रेनाडिन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्वेकिस्तान र यमन।