• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

गोरखाको चुमनुब्रीमा एमालेले विरोध गरेपछि अझै सुरु भएन मतगणना

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा एमालेले बिरोध गरेपछि अझै पनि मतगणना सुरु हुन सकेको छैन । मतगणना भन्दा पहिले सर्वदलीय बैठक बस्नु अघि निर्वाचन अधिकृतले माओवादी र कांग्रेसँग मात्रै छलफल गरेको भन्दै एमालेले विरोध गरेपछि मतगणना सुरु हुन नसकेको हो ।

‘सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने भन्ने थियो । तर, बैठक बस्नु अघि अधिकृतले एमालेलाई छाडेर कांग्रेस, माओवादीसँग मात्रै छलफलमा बसे । अनि हामीले बिरोध गर्यौँ । त्यसपछि सर्वदलीय बैठकपनि बस्न सकेको छैन’, एमालेका पालिका अध्यक्ष सुक बहादुर गुरुङले भने ।

आज साँझ करिब ८ बजेदेखि गाउँपालिकाको केन्द्र फिलिममा मतगणना सुरु गर्ने तयारी थियो । तर, सात बजेतिर अधिकृत नानीबाबु पोखरेलले एमालेलाई वाहेस गरेर छलफलमा बसेको भन्दै बिरोध सुरु भएको छ । निर्वाचन अधिकृत नानीबाबु पोखरेल भने एमालेका प्रतिनिधिको बुझाइ गलत भएको बताउँछन् ।

उनले भने, ‘सर्वदलीय बैठकबस्नु अघि अर्कै बिषयमा दुई दलहरुसँग छलफल गरेका थियौँ । उहाँहरुको बुझाइ गलत भयो । सर्वदलीय बैठकमा सबै दलहरुलाई बोलाइन्छ’, अधिकृत पोखरेलले भने ।

अहिले प्राविधिक कुराहरु मिलाइरहेको बताउँदै सबै ब्यवस्थापन सकेपछि मतगणना सुरु गर्ने उनले बताए ।

भौगोलिक विकटता र सडक सञ्जाल नजोडिएका कारण यस पालिकामा दुई दिन पैदल हिँडेर मतगणना स्थलसम्म मतपेटिका संकलन गरिएको छ ।