काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकपको पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । मुम्बईको वानखेडे क्रिकेट रंगशालामा बलियो इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा सीमित रह्यो ।
अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा क्रिजमा सेट ब्याटर लोकेश बम रहे पनि नेपालले मात्र ५ रन जोड्न सक्यो र जित नजिक पुगेर चुक्यो ।
लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सन्तुलित सुरुवात दिलाएका थिए । तर चौथो ओभरमा आसिफ आउट भएपछि छैटौं ओभरमा भुर्तेल पनि पवेलियन फर्किए । १७ बल खेलेका भुर्तेलले ४ चौका र १ छक्कासहित २९ रन बनाए ।
त्यसपछि कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाल्दै तेस्रो विकेटका लागि महत्वपूर्ण ८२ रनको साझेदारी गरे । दीपेन्द्र २९ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएर आउट भए भने रोहितले ३४ बलमा ३९ रन जोडे । लोकेश बम अविजित ३९ रनमा रहे ।
बलिङतर्फ इंग्ल्यान्डका लियम डवसनले २ विकेट लिए भने साम करन, जोफ्रा आर्चर, विल ज्याक्स र लुक उडले समान १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । ज्याकोब बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्यारी ब्रुकले ५३ रनको योगदान दिए भने विल ज्याक्स ३९ रनमा अविजित रहे ।
नेपालका लागि बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए । डेब्यु खेल खेलेका शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।
पराजय भए पनि नेपालले दुई पटकको विश्वकप विजेता इंग्ल्यान्डविरुद्ध कडा चुनौती प्रस्तुत गर्दै प्रतियोगितामा आफ्नो उपस्थिति मजबुत रूपमा दर्ज गराएको छ ।