काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।
मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर सुरुवात गरेपनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको अर्धशतकीय साझेदारीमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ मा नेपालले टी२० विश्वकपमा डेब्यु खेलमै सुबास खकुरेलले हङकङ विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे ।
बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।