• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंको मीनभवनमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका मीनभवनस्थित सिभिल अस्पताल अगाडि मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिजुलीबजारबाट तीनकुनेतर्फ जाँदै गरेको बा २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिप्परले सरकारी नम्बर प्लेटको स्कुटरलाई ठक्कर दिँदा चालकको ज्यान गएको हो। मृत्यु हुनेमा सुनसरीको इनरुवा–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइराला रहेका छन्।

प्र ३–००१ ब ९४५ नम्बरको सरकारी स्कुटर चलाइरहेका कोइराला टिप्परको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न टिप्पर र त्यसका चालक २६ वर्षीय विकास थापा मगरलाई नियन्त्रणमा लिएको छ। गोरखाको भूमिचोक घर भई हाल काठमाडौंको पेप्सीकोला बस्दै आएका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।