• २०८३ जेठ २२
  • 2026 June 05, Friday

धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

धादिङ। धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरेका छन्।

यसैगरी उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराएका छन् । थापाले नौ हजार ४३१ तथा रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गरेका छन्।

योसँगै धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ ।