• २०८३ जेठ २२
  • 2026 June 05, Friday

अमेरिकाले दक्षिण एसियाको ऊर्जा पूर्वाधारमा १.५ अर्ब डलर लगानी गर्ने

काठमाडौं । अमेरिकाले दक्षिण तथा दक्षिण–पूर्वी एसियालाई केन्द्रमा राख्दै इन्डो–प्यासिफिक क्षेत्रमा ऊर्जा सुरक्षा पूर्वाधार निर्माणका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

अमेरिकी राजदूत सेरगिओ गोरले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त कर्पोरेशन (डीएफसी) ले ऊर्जा सुरक्षा पूर्वाधार विस्तारका लागि लगानी प्लेटफर्म स्थापना गर्ने निर्णय गरेको बताएका हुन् ।

उनका अनुसार उक्त परियोजनाले अमेरिकी निजी क्षेत्रको पूँजी परिचालन गरी दक्षिण तथा दक्षिण–पूर्वी एसियामा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) तथा अन्य ऊर्जा पूर्वाधार विकासमा लगानी गर्नेछ । यो डीएफसीको इतिहासकै सबैभन्दा ठूलो एकल परियोजना लगानी भएको बताइएको छ ।

डीएफसीले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी पूर्वाधार लगानीकर्ता स्क्वार्यड क्यापिटलसँगको साझेदारीमा उक्त लगानी प्लेटफर्म स्थापना गरिनेछ । यसमार्फत ऊर्जा सुरक्षासम्बन्धी पूर्वाधार विस्तार गर्दै क्षेत्रीय ऊर्जा आपूर्तिलाई थप भरपर्दो बनाउने लक्ष्य राखिएको छ ।

डीएफसीले हालै २.५ अर्ब डलर बराबरका नयाँ रणनीतिक लगानी स्वीकृत गरेको छ । ती लगानीहरू अमेरिकी आपूर्ति शृङ्खला सुदृढीकरण, ऊर्जा निर्यात विस्तार, क्षेत्रीय शान्ति तथा स्थायित्व प्रवर्द्धन र आर्थिक सहकार्य अभिवृद्धिमा केन्द्रित रहने जनाइएको छ ।

संस्थाका अनुसार दक्षिण तथा दक्षिण–पूर्वी एसियाका धेरै मुलुकमा आवश्यक ऊर्जा पूर्वाधारको अभावले ऊर्जा सुरक्षामा चुनौती सिर्जना गरेको, मूल्यमा अस्थिरता बढाएको तथा औद्योगिक विकासमा बाधा पुर्‍याएको छ । नयाँ लगानी प्लेटफर्मले यस्ता समस्यालाई सम्बोधन गर्नुका साथै अमेरिकी प्राकृतिक ग्यास तथा ऊर्जा सम्बन्धी निर्यात विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अमेरिकी सरकारको अन्तर्राष्ट्रिय लगानी निकाय डीएफसीले निजी क्षेत्रको पूँजी परिचालनमार्फत अमेरिकी विदेश नीति तथा आर्थिक विकासका उद्देश्यहरूलाई प्रवद्र्धन गर्दै आएको छ । –एएनआई