
काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ ।
अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ ‘पेट्रोल ग्यास लगायतका बस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ । यदि हाम्रो आग्रहलाई फेरि पनि लत्याएर आयल निगम समाधान खोज्न तयार नहुने हो भने हाम्रो धैर्यताको अन्त्य हुनेछ र विद्यार्थी निर्मम संघर्षमा जान तयार छ ।’ अखिल क्रान्तिकारी अध्यक्ष सिंहले भनेकी छन्, ‘हाम्रा चेतावनीलाई नियमित ठान्ने भुल नगर्न आयल निगम, विभागीय मन्त्रालय र सरकारको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो ।