
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।
बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन् ।
उनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दाबी पनि गरे । यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उनले बताए । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको थापाको भनाइ छ ।
महामन्त्री थापाले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने तर्कसमेत गरे । उनले अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिने पनि बताए ।
थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिए ।