काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भन्दै निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ती जारी गर्दै सीएनआईले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न सरकारसँग अनुरोध गरेको हो ।
सीएनआईले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्यबृद्धिले नेपाली अर्थव्यस्था समेत प्रत्यक्ष प्रभावित भइरहेको उल्लेख गरेको छ । मध्यपूर्वको युद्ध अघि (फेव्रेवरी १५) डिजेल प्रति लिटर १३९ रुपैयाँ रहेकोमा हाल प्रति लिटर २२५ र बिटुमिनको मूल्य प्रति केजी ७५ बाट १५५ रुपैयाँ पुग्दा निर्माण उद्योगमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिनसहितका निर्माण सामाग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको भन्दै सीएनआईले चिन्ता जाहेर गरेको छ ।
यस्तोमा निर्माण परियोजना प्रभावित हुँदा अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन सीएनआईले आग्रह गरेको हो ।
“मूल्यवृद्धिको यस अवधिमा निर्माण व्यवसायीहरूलाई मात्रै रु. १० अर्ब भन्दा बढी नोक्सानी भइसकेको महासंघले जनाएको छ । निर्माण परियोजना प्रभावित हुँदा यससँग प्रत्यक्ष सरोकार राख्ने अन्य उद्योगहरुमा समेत शिथिलता आउन सक्ने भएकाले, निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाबलाई कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण व्यवसायीहरुको समस्यालाई उचित सम्बोधन गरिदिन परिसंघ सम्बन्धित सबै पक्षसँग अनुरोध गर्दछ,” सीएनआईले विज्ञप्तिमा भनेको छ ।