काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री डा। स्वर्णिम वाग्ले बजेट दस्तावेज बोकेर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन्, जहाँ मन्त्रिपरिषद् बैठकले बजेट पारित गर्नेछ। त्यसपछि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
यसपटक बजेट प्रस्तुतिको शैलीमा भने नयाँपन देखिएको छ। विगतमा जस्तै सुटकेश वा विशेष झोला प्रयोग नगरी अर्थमन्त्री वाग्लेले नेपाली कागजबाट बनेको फाइलमा बजेट दस्तावेज बोकेका छन्। नेपाल सरकारको निशान छाप अंकित उक्त फाइलले स्वदेशी उत्पादन र मौलिकताको सन्देश दिएको चर्चा छ।
अघिल्ला वर्षहरूमा विभिन्न अर्थमन्त्रीहरूले रातो सुटकेश, अल्लोबाट बनेका झोला तथा नेपालमै निर्मित विशेष ब्याग प्रयोग गर्दै आएका थिए। यसअघिका अर्थमन्त्री वर्षमान पुन र विष्णु पौडेलले नेपाली उत्पादनको झोला प्रयोग गरेका थिए। तर यसपालि फाइलमै बजेट ल्याएर अर्थमन्त्री वाग्लेले पुरानो परम्परा तोड्ने प्रयास गरेका हुन्।
यसअघि सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणको आवरण पनि नेपाली कागजकै शैलीमा तयार पारिएको थियो।