
काठमाडाैं । राहदानी विभागले सार्वजनिक बिदा भएको दिन आइतबार पनि सेवा दिने भएको छ।
विद्युतीय राहदानी सहजरूपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो ।
विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकाले सार्वजनिक बिदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन लागेको हो ।
त्यसका लागि विभागले यही जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खोलिने जनाएको हो ।
राहदानीका लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ ।