काठमाडौँ । सशस्त्र प्रहरी बलले नेपाल-चीन सीमा नाका कोरलाहुँदै नेपाल भित्र्याइएका ७७४ वटा बीवाईडी ब्रान्डका विद्युतीय गाडी (ईभी) नियन्त्रणमा लिएको छ । भन्सार छली तथा बजेटअघि संवेदनशील करसम्बन्धी सूचना चुहावट भएको उजुरीका आधारमा सशस्त्र प्रहरीले विशेष निगरानी सञ्चालन गरी गाडीहरु नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा, कास्कीको हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट बुधबार राति विशेष जाँचका क्रममा गाडीहरू नियन्त्रणमा लिइएको हो । गाडी नियन्त्रणका लागि मुस्ताङ, म्याग्दी, पर्वत र कास्कीस्थित सशस्त्र प्रहरी इकाइहरू परिचालन गरिएको भट्टले जानकारी दिए ।
भट्टले नियन्त्रणमा लिइएका सवारी आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालय तथा अन्य निकायलाई हस्तान्तरण गरिने बताए ।
नियन्त्रणमा लिइएकामध्ये अधिकांश गाडी नम्बर प्लेटविहीन अवस्थामा विभिन्न गन्तव्यतर्फ लैजाँदै गरिएको थियो । भन्सार छली, कागजी प्रक्रिया मात्रै पूरा गरी सवारी छुटाइएको तथा गलत कागजात प्रयोग भएको हुन सक्ने सूचनापछि सुरक्षा निकाय सक्रिय बनेको हो ।
नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय सवारीमा कर बढ्ने सूचना पहिले नै प्राप्त गरी ठूलो संख्यामा गाडी आयात गरेको आशंका छ । सरकारले सार्वजनिक गरेको नयाँ बजेटमा मध्यम तथा प्रिमियम सेग्मेन्टका ईभीमा कर बढाइएको छ भने साना तथा बजेटमैत्री ईभीमा केही कर सहुलियत दिइएको छ । बीवाईडीका अधिकांश मोडल मध्यम र प्रिमियम वर्गमा पर्ने भएकाले बजेटअघि ठुलो परिमाणमा आयात गरिएको देखिन्छ ।
सामान्यतया साइमेक्स इंकले मासिक करिब २५० वटा गाडी आयात गर्ने गरेको तथ्यांक रहेको छ । तर जेठ ८ देखि १२ गतेसम्मको छोटो अवधिमै ७७४ वटा गाडी नेपाल भित्र्याएको पाइएको छ । साइमेक्स इंकले बजेटअघिको एक महिनाको अवधिमा १ हजार ३९६ वटा बीवाईडी सवारी भन्सार जाँचपास गराएको पाइएको छ । यसमा एटो २, सिलायन ७ र एटो ३ लगायतका मोडलहरू समावेश छन् ।
यी तथ्यांकले कम्पनीले बजेटअघि अस्वाभाविक रूपमा गाडी आयात गरेको देखाएका छन् ।
भन्सार कर्मचारी, एजेन्ट तथा व्यापारीबीचको सम्भावित मिलेमतोमार्फत बजेट भाषणअघि नै करसम्बन्धी सूचना चुहिएको आशंका । केही सवारी वास्तविक रूपमा नाकामा नपुग्दै कागजी प्रक्रिया पूरा गरी जाँचपास गरिएको समेत पाइएको छ ।
बीवाईडीको आयातकर्ता साइमेक्स इंक यसअघि पनि भन्सार छलीसँगै विभिन्न विवादमा मुछिँदै आएको छ । हालको नयाँ विवाद समेतले साइमेक्स इंकमाथि सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता बढेको छ ।