
भक्तपुर । बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु सर्वसाधारणका लागि खुला गरिएको छ ।
कोभिड–१९ को महामारीका कारण २०७६ चैतदेखि सर्वसाधारणका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरस्थित स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
यहाँको स्वर्णद्वारबाट प्रवेश गरेर भक्तपुर तलेजु, सुनधारालगायतका ऐतिहासिक एवं पुरातात्विक संरचना हेर्न भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलेसमेत बिहीबारदेखि प्रवेश पाएको उनले बताए ।
पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मीले तलेजु खोल्न सम्बन्धित निकायलाई आफूले पनि पहल गरेको बताउँदै अब खुला भएपछि सबैलाई सहज भएको जानकारी दिइन् ।
उनले तलेजुभित्र केही मर्मतसम्भार तथा जीर्णोद्धारको कार्य भइरहेकाले खोल्न केही विलम्ब भएपछि अब सर्वसाधारणदेखि विदेशी नागरिकलेसमेत प्रवेश पाउने गरी खुला भएको बताइन् । कोरोना महामारीका कारण तलेजुमा विगत दुई वर्ष दसैँलगायतका महत्वपूर्ण चाडपर्वमा हुने बलिपूजासमेत बन्द गरेर औपचारिक पूजा मात्रै गरिएको थियो ।