• २०८३ असार ३
  • 2026 June 17, Wednesday

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।

समितिले जारी गरेको सूचना अनुसार पहिलो पटक प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको वेवसाइट www.moest.gov.np मा दिइएको लिंकमा दरखास्त पेस गर्न सकिनेछ । उपकुलपति नियुक्ति प्रक्रिया केयूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३ बमोजिम अघि बढाइएको हो ।

यसअघि जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

समितिमा राष्ट्रिय योजना आयोगको सदस्यमा रेशु अर्याल ढुंगाना र केयूका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्मा सदस्य छन् ।

समितिले प्राप्त आवेदनका आधारमा योग्य उम्मेदवारहरूको छनोट गरी उपकुलपति पदका लागि नाम सिफारिस गर्नेछ ।