• २०८३ असार ५
  • 2026 June 19, Friday

बजेटअघि बीवाईडीका गाडी ‘कागजमा मात्र’ जाँचपास भएको पुष्टि, प्रमुखसहित १३ कर्मचारी निलम्बित

काठमाडौं । बजेट भाषणअघि कर छली गर्ने उद्देश्यले रसुवा भन्सार कार्यालयबाट बीवाईडीका विद्युतीय कारहरू भौतिक रूपमा उपस्थित नगराई ‘कागजमा मात्र’ जाँचपास गरिएको पुष्टि भएको छ।

अर्थ मन्त्रालय र भन्सार विभागले गरेको विशेष अनुसन्धानले उक्त गम्भीर अनियमितता पुष्टि गरेपछि तत्कालीन प्रमुख भन्सार अधिकृतसहित १३ जना कर्मचारीलाई निलम्बन गरिएको छ।

जेठ १५ गतेको बजेट भाषणमार्फत विद्युतीय गाडीमा कर बढ्न सक्ने आँकलन गर्दै बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा‍लिले सेटिङमा गाडीहरू नाका नपुग्दै जाँचपास गराएको थियो। जेठ १३ र १४ गते गाडीहरू बाटोमै रहेको अवस्थामा रसुवा भन्सारका कर्मचारीहरूले प्रज्ञापनपत्र जारी गरी कर भुक्तानी लिएका थिए।

भन्सार ऐनअनुसार सवारीसाधन भौतिक रूपमा भन्सार यार्डमा उपस्थित भएपछि मात्र जाँचपास गर्नुपर्ने कानूनी व्यवस्था छ। तर, बीवाईडीका ४ सय ७२ वटा कारहरू नाकामा नआईकन कागजी प्रक्रियाबाट मात्रै पास गरिएको अनुसन्धानमा भेटिएको छ।

अनुसन्धान प्रतिवेदनका अनुसार बजेटअघिको १५ दिनमा जाँचपास भएकामध्ये ७० वटा ‘सिलायन सेभेन’ मोडलका कारहरू मात्रै बजेटपछि जाँचपास भएको भए राज्यले थप ३२ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त गर्ने थियो। साइमेक्स इंकले राज्यलाई बुझाउनुपर्ने करोडौँ राजस्व छल्न भन्सार कर्मचारीसँग मिलेमतो गरेको देखिएको छ।

भन्सार विभागले तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई पदीय जिम्मेवारी पूरा नगरेको र कानून उल्लंघन गरेको आरोपमा निलम्बन गरी विभागीय कारबाही अघि बढाएको छ।

यस्तै, यो अवैध कार्यमा संलग्न आयातकर्ता कम्पनी साइमेक्स इंक प्रालि र भन्सार एजेन्टहरू (एजेन्ट नम्बर २४८, ८३३ र ४७८) लाई पनि प्रचलित भन्सार कानूनबमोजिम कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई पत्राचार गरिएको छ।

सम्बन्धित समाचार