बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाका कर्मचारीहरूको व्यक्तिगत तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने “शक्तिशाली सोच र उत्प्रेरणा” तालिम कार्यक्रम शनिबारदेखि सुरु भएको छ ।
संस्थाका करिब १०० जना कर्मचारीहरूको सहभागिता रहेको तालिममा सकारात्मक सोच, प्रभावकारी नेतृत्व, सिर्जनशीलता, कार्यालय व्यवस्थापन, कार्यस्थलको आचरण तथा समुहगत कार्यसम्पादन जस्ता विषयमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरिरहनु भएको छ ।
तालिमको पहिलो दिन नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा उत्प्रेरक महेशराज दाहालले “शक्तिशाली विचार, समूह कार्य र नेतृत्व” विषयमा प्रशिक्षण दिएका थिए । उनले सकारात्मक सोच, स्पष्ट लक्ष्य, प्रभावकारी नेतृत्व र सामूहिक प्रयासमार्फत व्यक्ति तथा संस्थाले असाधारण सफलता हासिल गर्न सक्ने धारणा राखे ।
त्यसैगरी, सिवाईसी साकोसका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले “कार्यालय व्यवस्थापन” विषयमा सहजीकरण गर्दै व्यवस्थित कार्यशैली, समय व्यवस्थापन, अनुशासन तथा सेवामुखी संस्कृतिले संस्थाको कार्यसम्पादनलाई प्रभावकारी बनाउने बताए । कार्यालयलाई केवल कार्य गर्ने स्थान नभई सिकाइ, सहकार्य र उत्तरदायित्व निर्वाह गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने पौडेलको धारणा थियो ।
चारतारे युवा क्लब, सिवाईसी नेपालका सल्लाहकार मन दाहालले “कार्यस्थलमा हुने हिंसा” विषयमा प्रशिक्षण दिँदै सुरक्षित, सम्मानजनक र समावेशी कार्य वातावरण निर्माणको आवश्यकता औँल्याए । उनले कार्यस्थलमा हुने मानसिक, मौखिक तथा अन्य प्रकारका दुव्र्यवहारको पहिचान, रोकथाम र समाधानका उपायबारे सहभागीहरूलाई जानकारी गराए।
यस्तै, विकास तथा मानवीय सेवाका विज्ञ गोविन्द दाहालले “सिर्जनशीलता, माइन्डसेट र अन्डरस्ट्यान्डिङ अफ इनोभेसन” विषयमा सहजीकरण गर्दै नवीन सोच, समस्या समाधान गर्ने क्षमता र परिवर्तनलाई अवसरका रूपमा ग्रहण गर्ने मानसिकताको विकास आजको प्रतिस्पर्धी कार्यक्षेत्रमा अपरिहार्य रहेको बताए । उनले संस्थागत सफलताका लागि कर्मचारीमा सिर्जनशील सोच र नवप्रवर्तनमुखी संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गरे ।
संस्थाले कर्मचारीहरूमा सकारात्मक सोचको विकास, नेतृत्व क्षमता अभिवृद्धि, कार्यकुशलता वृद्धि, संस्थाप्रतिको उत्तरदायित्व सुदृढीकरण तथा सेवाको गुणस्तरमा थप सुधार ल्याउने उद्देश्यले तालिमको आयोजना गरेको संस्थाले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा विभिन्न व्यवहारिक अभ्यास, अन्तरक्रियात्मक छलफल र प्रेरणामूलक सत्रहरू समेत समावेश गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको स्वागत र शिक्षा उपसमिति सदस्य विरवहादुर किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।





