हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल बैंक लिमिटेडको नवनिर्मित अत्याधुनिक भवनको औपचारिक समुद्घाटन गरिएको छ । आइतबार एक भव्य समारोहका बीच माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा स्थित बैंकको नयाँ भवनको समुद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको पहिलो बैंकको रूपमा नेपाल बैंकको गौरवमय इतिहास रहेको स्मरण गरे । उनले बैंकले आफ्नै अत्याधुनिक भवनबाट गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप प्रभावकारी सेवाको अपेक्षा राखे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले वर्तमान समय डिजिटल बैंकिङको युग भएको उल्लेख गर्दै बैंकले अत्याधुनिक प्रविधिमार्फत ग्राहकहरूलाई छिटो र छरितो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले नयाँ भवनबाट ग्राहकहरूले अझै सहज रूपमा सेवा पाउने विश्वास दिलाए ।
यस क्षेत्रको अग्रणी बैंकको रूपमा स्थापित नेपाल बैंकले नयाँ भवनमा अपाङ्गता मैत्री सेवालाई समेत विशेष प्राथमिकता दिएको छ । सो अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र बैंकका प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायत स्थानीय जनप्रतिनिधि र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नेपालभर २३१ शाखाहरू, २४६ एटिएम र ६१ एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा दिँदै आएको यस बैंकले पछिल्लो समय प्रविधि र जनशक्तिमा व्यापक सुधार गरेको छ । युवा कर्मचारी र आधुनिक प्रविधिको सही संयोजनले बैंकप्रति आम नेपालीको आकर्षण दिनानुदिन बढ्दै गएको बैंकले जनाएको छ ।