बालेन शाह र हर्क राई लाेकतान्त्रिक गणतन्त्रका दुइटा फूल हुन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह र धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई मात्र स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा अन्य क्षेत्रबाट निर्वाचित स्वतन्त्र उम्मेदवारहरु स्वतन्त्र नभएको उनले दाबी गरेका हुन् ।

शनिवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले जनकपुर उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित मनोज साह र धनगढी उपमहानगरपालिकाका प्रमुखमा निर्वाचित गोपी हमाल पार्टीकै उम्मेदवार भएको बताएका हुन् । उनले हमाल र साहको विजय र्‍यालीमा दलका नेताहरु नै देखिनुले पनि उनीहरु स्वतन्त्र नभएको पुष्टि भएको बताए ।

प्रचण्डले भने, ‘अहिल स्वतन्त्र उम्मेदवार विजयी भए पार्टीका उम्मेदवार भए भन्ने छ । स्वतन्त्र भनेर स्वतन्त्र मान्छे सबैं ठाउँमा भएको छैन् । काठमाडौं र धरानमा दुई जना स्वतन्त्र हुन बाँकी स्वतन्त्र होइनन् । जनकपुरका देख्नुयभयो नेपाली कांग्रेसका नेताहरु नै विजय जुलुसमा हिँड्नुभयो । धनगढीमा पनि पार्टीकै मान्छै छन् ।’

राई र साह भिन्न विचार र प्रवृति सहित स्थानीय सरकारमा आएको प्रचण्डले बताए । ‘दुई जना युवाहरु विशिष्ट खालको छ । अरु स्वतन्त्र थप्न जरुरी छैन । लोकतान्त्रिक गणतन्त्रको फूलबारी भित्र फेरि दुई फूल फक्रिएको देख्छु म,’उनले भने ।

राजनीतिक दलहरुलाई स्वतन्त्रको जितले सच्चिन सन्देश दिएको भए पनि दलहरुलाई नै चुनौती भने नभएको प्रचण्डको दाबी छ । ‘राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा ध्यानदिनु पर्ने देखिन्छ तर राजनीतिक दलहहरुलाई नै चुनौती छ भन्ने सही होइन,’प्रचण्डले भने ।