• २०८३ असार १८
  • 2026 July 02, Thursday

याङ्गो राइडले गर्‍यो ट्राफिक प्रहरीसँग मिलेर सडक सुरक्षा कार्यक्रम

काठमाडौं । याङ्गो ग्रुप अन्तर्गतको याङ्गो राइडले नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौंमा सडक सुरक्षा सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा फ्लीट पार्टनर ईन्नोहब प्रा.लि. मार्फत २०० नयाँ मोटरसाइकल चालकलाई मोटरसाइकल वितरण गरिएको थियो साथै २०० भन्दा बढी हेल्मेट र रेनकोट पनि प्रदान गरिएको थियो।

कार्यक्रममा वर्षायाममा सुरक्षित रूपमा मोटरसाइकल चलाउने तरिका, ट्राफिक नियम, सडक सुरक्षा र नागरिक जिम्मेवारीबारे नेपाल ट्राफिक प्रहरीद्वारा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा याङ्गो राइड नेपालका कन्ट्री मेनेजर सन्तोष पाण्डेले भने, ‘याङ्गोको उद्देश्य चालक, यात्रु र स्थानीय व्यवसाय सबैलाई लाभ पुग्ने वातावरण निर्माण गर्नु हो। स्थानीय फ्लीट पार्टनरसँगको सहकार्यले चालकहरूलाई सजिलो आम्दानीको अवसर प्रदान गर्नुका साथै नेपालको डिजिटल अर्थतन्त्रलाई पनि सहयोग पुर्‍याइरहेको छ।’

उनले थप भने, ‘याङ्गोको लागि सुरक्षा पहिलो प्राथमिकता हो। नेपाल ट्राफिक प्रहरीसँग मिलेर चालकहरूलाई आवश्यक सुरक्षा ज्ञान र सामग्री उपलब्ध गराउन पाउँदा हामी खुशी छौं। आगामी दिनमा पनि चालक र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

कार्यक्रममा ईन्नोहब प्रा.लि.ले नयाँ चालकहरूलाई मोटरसाइकल र हेल्मेट उपलब्ध गराएको थियो। याङ्गो राइडले स्थानीय साझेदारसँगको सहकार्यमार्फत सुरक्षित र भरपर्दो यातायात सेवा विस्तार गर्ने तथा चालकहरूका लागि रोजगारीका अवसर बढाउने लक्ष्य लिएको जनाएको छ।