• २०८३ असार १९
  • 2026 July 03, Friday

द ब्रिटिस कलेज बन्यो ब्रिटिस एक्रिडिटेसन काउन्सिलबाट पुनः मान्यता प्राप्त गर्ने नेपालकै एक्लो कलेज

काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित द ब्रिटिस कलेज (टीबीसी) ले बेलायतको प्रतिष्ठित ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रूपमा आफ्नो मान्यता नवीकरण गराउँदै नेपालमा बीएसीको मान्यता कायम राख्ने हालसम्मको एकमात्र शैक्षिक संस्थाको हैसियत कायम राखेको हो।

कलेजका अनुसार नवीकरण गरिएको बीएसी मान्यता सन् २०३० मे ३१ सम्म कायम रहनेछ। मान्यता नवीकरणअघि बेलायतबाट आएको निरीक्षक टोलीले कलेजका शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, सिकाइ स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनासहित विभिन्न पक्षको विस्तृत मूल्यांकन गरेको थियो।

सन् १९८४ मा स्थापना भएको ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बीएसी) बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूको गुणस्तर मूल्यांकन गर्ने प्रतिष्ठित निकायका रूपमा विश्वव्यापी रूपमा प्रख्यात छ। यसले बेलायत र विभिन्न देशका निजी उच्च शिक्षा, व्यावसायिक तालिम तथा अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सेवा, सिकाइ स्रोतसाधन, अध्यापन तथा व्यवस्थापन प्रणालीको कठोर निरीक्षण गरी मान्यता प्रदान गर्छ।

बीएसीको मूल्याङ्कन निरीक्षण टोलीको स्थलगत भ्रमण, कागजात परीक्षण, शिक्षक-विद्यार्थीसँगको अन्तर्वार्ता तथा संस्थागत प्रक्रियाको विस्तृत समीक्षामा आधारित हुन्छ। बीएसीको मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीतिक तथा वित्तीय व्यवस्थापन, शैक्षिक र प्रशासनिक सञ्चालन, शिक्षण तथा मूल्यांकन, विद्यार्थी सहयोग र मार्गदर्शन, भौतिक पूर्वाधार, सिकाइ स्रोतसाधन तथा गुणस्तर व्यवस्थापन र निरन्तर सुधारलगायतका मापदण्ड पुरा गर्नुपर्ने हुन्छ।

बीएसीको मान्यतालाई शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन र उत्कृष्टताको अन्तर्राष्ट्रिय मापदण्डका रूपमा लिइन्छ।

द ब्रिटिस कलेजका एकेडेमिक डिन डा डेक्लान पी ब्याननले पुनः मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए। उनका अनुसार यस उपलब्धिले विद्यार्थी तथा अभिभावकको विश्वास अझ सुदृढ बनाउनेछ।

बीएसीकी उपप्रमुख कार्यकारी अधिकृत लुसी फक्सले पुनः मान्यताले द ब्रिटिस कलेजले शैक्षिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, विद्यार्थी कल्याण तथा संस्थागत सुशासनका क्षेत्रमा स्वतन्त्र र कडा मूल्यांकन सफलतापूर्वक पार गरेको पुष्टि गर्ने बताइन्। उनले कलेजलाई पुनः मान्यता प्राप्त गरेकोमा बधाईसमेत दिएकी छन्।