काठमाडौं। अर्थ मन्त्रालयले नयाँ आर्थिक वर्षको सुरुआतसँगै राजस्व प्रशासनका दुई प्रमुख विभागमा नेतृत्व परिवर्तन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सहसचिव यमलाल भुसाललाई भन्सार विभागको महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन ।
नवनियुक्त दुवै अधिकारी हालै मन्त्रिपरिषद्को निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव हुन्। अर्थ मन्त्रालयमा जिम्मेवारी सम्हालेलगत्तै उनीहरूलाई देशका मुख्य राजस्व संकलन गर्ने निकायको नेतृत्व दिइएको हो।
नेतृत्व परिवर्तनसँगै भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेय र आन्तरिक राजस्व विभागका महानिर्देशक रमेश अर्याललाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ। साथै, भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी सहसचिव प्रेमप्रसाद आचार्यलाई दिइएको छ।
सरकारले बजेट कार्यान्वयन, राजस्व संकलन सुदृढीकरण तथा कर प्रशासनलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ नेतृत्व हेरफेर गरेको हो। विशेषगरी आन्तरिक राजस्व विभागमा डा। भीष्मकुमार भुसाललाई सुशासन, कर चुहावट नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने अपेक्षासहित जिम्मेवारी दिइएको बताइएको छ। पछिल्लो समय उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।
यता, यमलाल भुसाल भने दोस्रो पटक भन्सार विभागको महानिर्देशक बनेका छन्। यसअघि पनि उनले केही समय उक्त विभागको नेतृत्व सम्हालेका थिए। उनको अनुभवले भन्सार प्रशासन सुधार, राजस्व संकलन वृद्धि तथा व्यापार सहजीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
नयाँ आर्थिक वर्षमा सरकारले तय गरेका राजस्व लक्ष्य हासिल गर्ने, बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा कर प्रशासनमा सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ गरिएको यो नेतृत्व परिवर्तनलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।