• २०८३ असार २३
  • 2026 July 07, Tuesday

प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबिच भेटवार्ता, विकास सहयोग विस्तार गर्ने प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा बिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा सोमबार प्रधानमन्त्री शाह र कान्डाबिच भेटवार्ता भएको हो।

​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरे।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन्।

जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।

​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए।

उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।