• २०८३ असार २३
  • 2026 July 07, Tuesday

आगामी आर्थिक वर्षमा महँगी ५.५ प्रतिशतमा सीमित रहने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित रहने प्रक्षेपण गरेको छ। मंगलबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा. विश्वनाथ पौडेलले बाह्य आपूर्तिजन्य कारणले हाल मूल्यवृद्धिमा दबाब रहे पनि आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि त्यसमा क्रमशः कम हुने आँकलनसहित मुद्रास्फीतिमा ५.५ प्रतिशतमा भित्र रहने प्रक्षेवण प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा औसत मुद्रास्फीति २.६६ प्रतिशत रहेको भए पनि २०८३ वैशाखमा वार्षिक बिन्दुगत मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्यवृद्धिका कारण केही महिना मुद्रास्फीतिमा चाप कायम रहनेछ। साथै, आन्तरिक माग विस्तारको प्रभावले पनि मूल्यवृद्धिमा केही दबाब थपिन सक्ने उल्लेख गरिएको छ।

बाह्य दबाबका कारण मुद्रास्फीतिमा केही दबाब परेको भए तापनि क्रमश सहज हुँदै जाने राष्ट्र बैंकको अपेक्षा छ।

सरकारले जेठ १५ मा बजेटमार्फत आगामी आर्थिक वर्षमा मुद्रास्फीतिलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।