• २०८३ असार २५
  • 2026 July 09, Thursday

काठमाडौँ आउँदै मिटरब्याज पीडित, जनकपुरदेखि पैदल मार्च सुरु

जनकपुर । मिटरब्याज पीडितहरुले जनकपुरदेखि काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका छन् ।

बिहीबार जनकपुरधामको तिरहुतिया गाछि मैदानबाट देशभरका विभिन्न स्थानबाट आएका मिटरब्याज पीडितहरुले काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका हुन् । पैदल मार्च सुरु गर्नुअघि उनीहरुले फर्जि तमसुक जलाएका थिए । साथै, उनीहरुले मशाल जलाएर मार्चको शुभारम्भ गरेका छन् ।

पैदल मार्च सुरु गर्नुअघि लघुवित्त तथा वित्तिय शोषणविरुद्ध  किसान मजदुर आन्दोलनका केन्द्रिय अध्यक्ष रमेश सेन्चुरीले यस पटकको संघर्ष अन्तिम हुने जानकारी दिए ।

उनले बालेन्द्र साहले प्रधानमन्त्री बन्नुअघि जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरुको समस्या समाधान गर्ने उद्घोष गरेतापनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको भन्दै गुनासो पोखे ।

अध्यक्ष सेन्चुरीले सरकारसँग चार पटक सहमति भए पनि कुनै सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले अन्तिम प्रयास स्वरुप पुनः पैदल मार्च गर्नुपरेको बताए ।

उनले काठमाडाैं पुगेर सरकारविरुद्ध आन्दोलन गर्नुअघि सरकारले आफूहरुको माग सम्बोधन गर्नेमा आशावादी रहेको पनि बताए । उनले मिटरब्याज पीडित देशभरि छरिएर रहेकोले सबैलाई काठमान्डौ सम्मको पैदल यात्रामा सहभागी हुन आग्रह गरे ।