काठमाडौँ। सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीको पाककला प्रतिभा, सिर्जनशीलता तथा नेपालको कृषि सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘म्याङ्गो मास्टर्स’ नामक अन्तर-कलेज पाककला प्रतियोगिता आयोजना गरेको छ।
कलेजको फिलोसोफी ल्याबमा शुक्रबार आयोजित प्रतियोगितामा विद्यार्थी सेफहरूले व्यावसायिक प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो पाककला सीप प्रदर्शन गरेका थिए। प्रतियोगितामार्फत स्थानीय उत्पादनको प्रयोग, दिगोपना र सिर्जनात्मक पाककलालाई प्रोत्साहन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार सिल्भर माउन्टेनमा कक्षाकोठामै सीमित नभई विद्यार्थीलाई उद्योगमुखी गतिविधि, पाककला प्रतियोगिता, व्यावहारिक तालिम तथा होटल तथा आतिथ्य क्षेत्रका अनुभवी विज्ञहरूसँग अन्तरक्रियामा सहभागी गराइने गरिएको छ। यसले विद्यार्थीलाई विश्वव्यापी आतिथ्य उद्योगका लागि आवश्यक आत्मविश्वास, अनुभव र व्यावसायिक दक्षता विकास गर्न सहयोग पुर्याउने विद्यालयको विश्वास छ।
यस वर्षको ‘म्याङ्गो मास्टर्स’ प्रतियोगितामा विद्यार्थीले नेपालमा उत्पादन हुने विभिन्न जातका आँप प्रयोग गरी अन्तर्राष्ट्रिय पाककला प्रविधिसँग स्थानीय स्वादलाई संयोजन गर्दै नयाँ परिकार तयार गरेका थिए। प्रतियोगिताले स्थानीय कृषि उत्पादनको उपयोगसँगै सिर्जनात्मक ग्यास्ट्रोनोमीलाई पनि प्राथमिकता दिएको थियो।
प्रतियोगितामा ३० जना विद्यार्थी सेफ सहभागी भएका थिए। उनीहरूले सलाद, एपेटाइजर, मुख्य परिकार तथा डेजर्ट विधामा प्रतिस्पर्धा गरेका थिए। सहभागीका परिकारको मूल्यांकन स्वाद, प्रस्तुति, प्राविधिक दक्षता, सिर्जनशीलता तथा स्थानीय आँपको प्रभावकारी प्रयोगका आधारमा गरिएको थियो।
प्रतियोगिताको निर्णायक मण्डलमा काठमाडौं म्यारियट होटलका कार्यकारी सेफ सुवेन्दु रोय, शेफ एसोसिएसन अफ नेपालका अध्यक्ष सेफ पदम आले मगर तथा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका कर्पोरेट सेफ डा (सेफ) सुभदीप मजुमदार रहेका थिए। निर्णायकहरूले विद्यार्थीलाई व्यावसायिक सुझाव प्रदान गर्नुका साथै उद्योगका मापदण्ड र अपेक्षाबारे पनि जानकारी गराएका थिए।
प्रतियोगितामा ‘म्याङ्गो कबाब’ परिकार प्रस्तुत गरेका सेफ सरुण महर्जन विजेता बने। ‘म्याङ्गो कोटेड प्रन’ तयार गरेकी सेफ नबिना श्रेष्ठ प्रथम उपविजेता तथा ‘द लोटस’ परिकार प्रस्तुत गरेकी अनुस्का लामा द्वितीय उपविजेता घोषित भइन्।
विजेता तथा सहभागी विद्यार्थीलाई सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका प्रिन्सिपल तथा संस्थापक अध्यक्ष समिर थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल थापाले आतिथ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनका लागि व्यावहारिक सिकाइ र उद्योगसँगको प्रत्यक्ष सहकार्य अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले यस्ता प्रतियोगिता विद्यार्थीको व्यावसायिक यात्राको सुरुआत मात्र भएको उल्लेख गर्दै प्रतिस्पर्धालाई आत्मविश्वास अभिवृद्धि गर्ने माध्यमका रूपमा लिनुपर्ने धारणा राखे। वास्तविक उद्योगमा प्रवेश गर्दा प्रतिस्पर्धात्मक वातावरणसँग जुध्न यस्ता अनुभवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले विगत २५ वर्षभन्दा बढी समयदेखि अन्तर्राष्ट्रियस्तरको आतिथ्य शिक्षा, व्यावहारिक सिकाइ तथा उद्योगसँगको सहकार्यमार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। विद्यालयले विद्यार्थीलाई प्रतियोगिता, प्रत्यक्ष कार्यक्रम, कार्यशाला तथा प्रतिष्ठित सेफ र आतिथ्य क्षेत्रका विशेषज्ञसँग अन्तरक्रियामार्फत शैक्षिक ज्ञानसँगै व्यावहारिक अनुभव हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ।