काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर दबाबमा रहँदै करिब आठ महिनायताकै न्यून स्तरमा झरेको छ। बजेट सार्वजनिक भएपछि र मौद्रिक नीति आएयता देखिएको बिक्री दबाब सोमबार पनि कायम रहँदा नेप्से ३०.६० अंकले घटेर २,५७०.१८ विन्दुमा बन्द भयो। यो स्तर गत मंसिर ४ यताकै सबैभन्दा न्यून भएको मानिएको छ।
बजार परिसूचक उल्लेख्य रूपमा घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा लगानीकर्ताको सक्रियता बढ्दै कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढी बराबरको सेयर किनबेच भएको छ। यस दिन ३६८ वटा धितोपत्रका ४ करोड १७ लाख २५ हजार ३२३ कित्ता सेयर ५१ हजार २९५ पटकको कारोबारमार्फत खरिद बिक्री भए। कारोबार रकम वैशाख ९ यताकै उच्च स्तरमा पुगेको उल्लेख गरिएको छ।
बजारको समग्र प्रवृत्ति कमजोर रहँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कारोबार भएका कम्पनीमध्ये २२ वटाको मूल्य बढ्दा २४९ कम्पनीको मूल्यमा गिरावट आएको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर बजार राताम्मे देखिएको थियो र अन्तिम कारोबारसम्म पनि सुधार आउन सकेन।
क्षेत्रगत रूपमा हेर्दा कारोबारमा सहभागी सबै समूहका परिसूचक घटेका छन्। व्यापार समूहमा सबैभन्दा धेरै २.३० प्रतिशतको गिरावट देखिएको छ। होटल तथा पर्यटन समूह १.९९ प्रतिशतले घट्दा जलविद्युत् समूह पनि १.९८ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी बैंकिङ ०.६८ प्रतिशत, विकास बैंक ०.८३ प्रतिशत, फाइनान्स १.३२ प्रतिशत, लगानी ०.८८ प्रतिशत, जीवन बीमा १.०७ प्रतिशत, निर्जीवन बीमा ०.७५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३६ प्रतिशत, माइक्रोफाइनान्स ०.८७ प्रतिशत तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले बढेर प्रतिकित्ता १,१९७ रुपैयाँ पुगेको छ। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि करिब ५ प्रतिशतले वृद्धि भएको छ। ऋणपत्रतर्फ १०.२५ प्रतिशत सिटिजन बैंक डिबेन्चर २०८६ करिब ५.३१ प्रतिशतले मूल्य बढ्दै उत्कृष्ट प्रदर्शन गर्ने धितोपत्रमध्ये परेको छ। साथै प्रभु बैंक डिबेन्चर र नबिल बैंक डिबेन्चर पनि दिनका उच्च लाभ कमाउने धितोपत्रको सूचीमा परेका छन्।
यता गिरावटतर्फ भने उपकार लघुवित्त सबैभन्दा बढी प्रभावित रह्यो। कम्पनीको सेयर मूल्य ११।२८ प्रतिशतले घटेर प्रतिकित्ता २,८३९ रुपैयाँमा झरेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य ७.४७ प्रतिशतले घटेर २७५ रुपैयाँमा सीमित भयो। त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ६.५१ प्रतिशत, हिमस्टार ऊर्जाको ६.४२ प्रतिशत तथा टक्सार पिखुवाखोला हाइड्रोपावरको ६.२४ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा भने ऋणपत्र (डिबेन्चर) हरूले बजारमा अग्रता कायम राखे।