काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले वर्तमान सरकारमाथि निरंकुश बन्दै गएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई नागरिकको प्रश्न सुन्न र संविधानको सीमाभित्र रहेर काम गर्न आग्रह गरे।
सांसद राईले भागवत पुराणको हिरण्यकश्यप र प्रह्लादको प्रसंग उल्लेख गर्दै प्रश्न गर्ने अधिकारमाथि रोक लगाउने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक भएको बताए। उनले प्रश्न गर्नु अपराध ठान्ने शासन व्यवस्था अन्ततः पतन हुने दाबी गरे।
‘हिरण्यकश्यप आफूलाई सर्वशक्तिमान् ठान्थे। उनको राज्यमा उनीबाहेक अरू कसैलाई ईश्वर मान्न पाइँदैनथ्यो। जब छोरा प्रह्लादले प्रश्न गरे, सत्य बोले, त्यो नै अपराध ठहरियो,’ उनले भने।
्उनले सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको युवा आन्दोलन स्मरण गर्दै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उठेका युवामाथि अहिले नै प्रश्न गर्न रोक लगाउने प्रयास भइरहेको आरोप लगाए।
‘जुन युवाले प्रश्न सोध्ने अधिकार माग्यो, आज त्यही युवालाई प्रश्न गर्नबाट वञ्चित गरिएको छ,’ राईले भने।
सांसद राईले मुगुका २५ वर्षीय राइड–सेयरिङ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारले आत्मसमीक्षा गर्नुपर्ने बताए। नगरप्रहरीसँगको विवादपछि नेपालीले काठमाडौंको सडकमा आत्मदाह गरेको घटनापछि सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो।
उनले घटनाबारे प्रश्न उठाउने प्रतिपक्ष, सञ्चारमाध्यम र नागरिक समाजमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाए।
‘एउटा नागरिकले ज्यान गुमाउँदा सरकारले आत्मसमीक्षा गर्नुपर्ने थियो। तर प्रश्न सोध्ने हिम्मत कहाँबाट आयो भन्ने शैलीमा प्रश्न उठाउनेमाथि प्रतिशोध साध्ने काम भयो,’ उनले भने।
उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने क्रममा भावनात्मक हुँदै सांसदहरूमाथि धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै त्यसप्रति आपत्ति जनाए।
सांसद राईले १८२ सिटको बहुमतले सरकारलाई संविधान उल्लंघन गर्ने अधिकार नदिने बताए। बहुमत जनताको प्रतिनिधित्वका लागि भएको भन्दै त्यसले नागरिकको अधिकार कुल्चन नसक्ने उनको भनाइ थियो।
बहुमतले संविधानभन्दा माथि जाने अधिकार दिँदैन। प्रश्न सोध्ने नागरिकको मुख थुन्ने ठेक्का बहुमतले दिएको छैन,” उनले भने।
उनले राज्यका संरचनाहरू सत्तारूढ दलको प्रभावमा पर्दै गएको आरोपसमेत लगाए। प्रहरी प्रशासन अनौपचारिक शक्तिको निर्देशनमा चल्न थाले राज्य र सत्ताबीचको सीमाना मेटिने उनको भनाइ थियो।
सांसद राईले सरकारलाई निरंकुशताको बाटो छाडेर नागरिक केन्द्रित भएर अघि बढ्न आग्रह गरे। उनले आफू किसान परिवारबाट आएको र लोकतान्त्रिक मूल्य तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएको बताए।