• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

इरानका बन्दरगाहमा अमेरिकी नाकाबन्दी पुनः सुरु, व्यापारमा असर पर्ने अनुमान

काठमाडौँ । अमेरिकी केन्द्रीय कमान्डले इरानका बन्दरगाहमाथि पुनः नाकाबन्दी सुरु गरेको जनाएको छ । अमेरिकाले इरानका बन्दरगाहमा प्रतिबन्ध लागू गरिएको अमेरिकी पक्षले जनाएको हो ।

यसअघि पनि अमेरिकाले अप्रिलदेखि जुनसम्म करिब दुई महिनासम्म इरानका बन्दरगाहमा नाकाबन्दी लगाएको थियो। उक्त अवधिमा मध्यपूर्वदेखि हिन्द महासागरसम्म अमेरिकी नौसेना र वायुसेनाले निगरानी तथा कारबाही सञ्चालन गरेको थियो ।

यसपटकको नाकाबन्दी होर्मुज जलडमरूमध्यभित्र र बाहिर रहेका सबै इरानी बन्दरगाहमा लागू हुने बताइएको छ । नाकाबन्दीअन्तर्गत सम्बन्धित देशका समुद्री व्यापारिक गतिविधिमा रोक लगाउन सकिन्छ । विपक्षी देशका जहाज रोक्ने, सामान नियन्त्रणमा लिने तथा आवश्यक परे समुद्रमा रहेका सम्पत्तिमाथि कारबाही गर्न सकिने व्यवस्था हुन्छ । यस्तो कदमको उद्देश्य कुनै देशलाई निर्यातबाट हुने आम्दानी घटाउनु र आवश्यक सामग्रीको आयातमा अवरोध पुर्‍याउनु हो । यसबाट देशको अर्थतन्त्र र सैन्य क्षमतामा असर पार्ने लक्ष्य राखिन्छ ।

समुद्री युद्धसम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार नाकाबन्दी लागू गर्नुअघि त्यसको घोषणा गर्नुपर्ने, जहाजहरूलाई जानकारी दिनुपर्ने र त्यसलाई कार्यान्वयन गर्न पर्याप्त नौसैनिक तथा हवाई शक्ति उपलब्ध हुनुपर्ने हुन्छ । विश्लेषकहरूका अनुसार इरानमाथिको यो कदमले उसको तेल निर्यात, अन्तर्राष्ट्रिय व्यापार र होर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री आवतजावतमा असर पार्न सक्छ ।