काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।
मंगलबार आयोजित गुरुराज घिमिरेकृत ‘बुद्ध, बीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले गुरुराज घिमिरेले आफू र विश्वप्रकाश शर्मालाई लेखेको खुला पत्रमा कुण्ठाभन्दा प्रेम, करुणा र रचनात्मक आलोचना रहेको बताए।
उनले भने, ‘आज गुरु घिमिरेले विश्वप्रकाश शर्मा र गगन थापालाई लेख्नुभएको खुल्ला पत्रको प्रसङ्ग पटक–पटक उठेको छ। त्यसलाई राम्रोसँग पढ्नु भयो भने पार्टीभित्रको अन्तरविरोध र राजनीतिक खिचातानी नदीका दुई किनाराजस्तो देखिन्छ। तर पनि त्यो लेखमा कहीँ पनि कुण्ठा भेटिँदैन। त्यहाँ भावना भेट्नुहुन्छ। कवितामा पनि विचारभन्दा भावना र करुणा हावी भएको ठाउँमा कविता बलियो हुन्छ।’
सभापति थापाले घिमिरेको लेखनले उनको व्यक्तित्व झल्काउने उल्लेख गर्दै आलोचना र निन्दाबीचको भिन्नता स्पष्ट देखिएको बताए।
उनले भने, ‘हामीलाई लेखेको पत्रमा पनि कहीँ कुण्ठा छैन। त्यहाँ प्रेम छ, करुणा छ, समभाव छ, आलोचना छ, निन्दा छैन। यही गुरु घिमिरेको चरित्र हो। जिम्मेवारीमा बसेका मानिसप्रति प्रश्न उठ्नु स्वाभाविक हो।’
पुस्तकका लेखहरू समसामयिक राजनीतिक टिप्पणी भए पनि तिनको मूल सन्देश राजनीतिमा देखिएको विकृतिप्रतिको चिन्ता रहेको उनले बताए।
उनले भने, ‘‘बुद्ध, बीपी र आजका नेता’ र ‘लिलिपुटका लघुमानव’ सरसर्ती हेर्दा समसामयिक राजनीतिक टिप्पणीजस्ता लाग्छन्। तर मैले यसमा राजनीतिमा आएको विकृतिले लेखकलाई गहिरो पीडा दिएको देख्छु। विभिन्न पात्र र प्रसङ्ग भए पनि सार एउटै छ। विकृतिले समाजमा तीव्र असन्तुष्टि ल्याएको छ। यही असन्तुष्टिले परिवर्तनको अपरिहार्यता स्थापित गर्यो तर नेतृत्वले त्यसलाई बुझ्न सकेको छैन। त्यस कारण कुनै पनि बेला विस्फोट हुन सक्छ।’
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक नेतृत्वसँगै साहित्यिक योगदानको चर्चा गर्दै जेल जीवनले पनि उनको सिर्जनशीलतालाई रोक्न नसकेको बताए।
उनले भने, ‘नरेन्द्र दाइ, सुम्निमा जस्ता प्रसिद्ध कृतिहरू बीपी कोइरालाले लेख्नुभयो। बीपी प्रधानमन्त्रीकै रूपमा रहिरहनुभएको भए देशले अर्को उचाइ पाउँथ्यो होला। तर उहाँलाई जेल हालियो। त्यसपछि पनि बीपीभित्रको सिर्जनशीलता मरेन। राजा महेन्द्रले थुनेको जेलको चार पर्खालभित्र बसेर पनि ‘सुम्निमा’ र ‘नरेन्द्र दाइ’ जस्ता कृतिहरू जन्मिए।’
शर्माले बुद्ध र बीपीको त्यागको प्रसङ्ग आजको राजनीतिका लागि पनि सान्दर्भिक रहेको बताए।
उनले भने, ‘‘बुद्ध, बीपी र आजका नेता’ पढ्दा बुद्धले सत्ता त्याग गरेको र बीपीले पनि एकपटक प्रधानमन्त्री भएपछि फेरि पदको दौडमा आफूलाई नराखेको प्रसङ्ग सम्झिनुपर्छ। बुद्ध र बीपीको त्यागसँग जोडेर आजको राजनीतिलाई हेर्नुपर्छ।’
पुस्तकका लेखक गुरुराज घिमिरेले समाज र राजनीतिमा देखिएका विकृति तथा गलत दिशातर्फ मुलुक अघि बढिरहेको चिन्ताले आफूलाई यी लेखहरू लेख्न प्रेरित गरेको बताए।
उनले भने, ‘वास्तवमा समाजले गति लिएको भए, सरकारहरूले काम गर्न सकेका भए सरकार, पार्टी सञ्चालन र नेपाली समाजमा देखिएका विकृतिबारे यस्ता लेख लेख्नुपर्ने अवस्था आउने थिएन। तर दुर्भाग्यवश मुलुक गलत दिशातर्फ अघि बढ्ने गति रोकिएन। त्यसैले यी लेखहरू लेख्नुपर्यो।’