काठमाडौँ । ब्रिटिस काउन्सिलले अङ्ग्रेजी भाषा शिक्षणमा सिर्जनशीलता, समावेशिता र प्रविधिको प्रयोगबारे छलफल गर्न दक्षिण एसियाली क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी जुलाई २३ देखि २५ सम्म हुने ‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ मा नेपालसहित दक्षिण एसियाका विभिन्न देशका शिक्षा विज्ञहरू सहभागी हुनेछन् ।
तीन दिनसम्म चल्ने यस अनलाइन सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूले भाग लिनेछन् । सम्मेलनको मुख्य उद्देश्य बदलिँदो विश्व परिवेशमा विद्यार्थीहरूलाई सिर्जनशीलता, आलोचनात्मक सोच र प्रभावकारी सञ्चार सीपमार्फत कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषयमा बहस गर्नु रहेको छ ।
सम्मेलनमा विशेषगरी अङ्ग्रेजी भाषाको सिकाइलाई केवल व्याकरण र शब्दमा मात्र सीमित नराखी विद्यार्थीको स्वःक्षमता (एजेन्सी) विकास गर्ने र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता नवीनतम प्रविधिलाई शिक्षण विधिको पूरकका रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेर सम्वाद हुने ब्रिटिस काउन्सिलले जनाएको छ ।
सम्मेलनका बारेमा बोल्दै ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले भने, “अहिलेको विश्वमा सफलता पाउन प्रभावकारी सञ्चार र आलोचनात्मक सोच आवश्यक छ, जसमा सिर्जनशीलताको ठूलो भूमिका हुन्छ । यस सम्मेलनमार्फत हामी शिक्षकहरूलाई व्यवहारिक र अनुसन्धानमा आधारित नयाँ शैक्षिक रणनीतिहरू अवगत गराउनेछौँ ।”
नेपालका तर्फबाट तीन विज्ञ वक्ता
सम्मेलनमा नेपालको तर्फबाट माध्यमिक तहकी शिक्षिका तथा प्रशिक्षक शोभा भट्टराई, मधेश प्रदेशमा कार्यरत शिक्षिका तथा सहायक प्रधानाध्यापक आस्था कुमारी चौधरी र प्रविधिमैत्री शिक्षणका विज्ञ कृष्ण आर.सी. ले वक्ताका रूपमा आफ्नो अनुभव र कार्यपत्र प्रस्तुत गर्नेछन् । उनीहरुका साथै दक्षिण एसियाका अन्य ११ जना ख्यातिप्राप्त विज्ञहरूले पनि विभिन्न सत्रहरूमा प्रस्तुति दिने कार्यक्रम छ ।
निःशुल्क सहभागी हुन पाइने
यो सम्मेलन पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ र यसमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । इच्छुक शिक्षक, विद्यार्थी वा शिक्षा क्षेत्रका सरोकारवालाले ब्रिटिस काउन्सिलको आधिकारिक वेबसाइटमार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिहरूले यो लिङ्कमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन्: https://www.teachingenglish.org.uk/news-and-events/webinars/webinars-teachers/south-asia-teachingenglish-online-conference-2026
दक्षिण एसियाली देशका साझा शैक्षिक चुनौतीलाई स्थानीय सन्दर्भमा कसरी समाधान गर्न सकिन्छ र कक्षाकोठालाई कसरी थप समावेशी बनाउन सकिन्छ भन्ने विषयमा यो सम्मेलन कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।